२१ कात्तिक, काठमाडौँ।
जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्र संघीय संरचना महासन्धि पक्ष राष्ट्रहरुको २९औँ सम्मेलन (कोप–२९) मा भाग लिन राष्ट्रपति रामचन्द्र पौडेल आगामी आइतबार (२५ कात्तिकमा) अजरबैजान प्रस्थान गर्ने भएका छन् ।
२९औँ कोपमा नेपाली प्रतिनिधि मण्डलको नेतृत्व गर्दै उनी अजरबैजानको राजधानी बाकु जाने निधो भएको हो । अजरबैजानका समकक्षी इल्हम अलियभको निमन्त्रणामा पौडेल कोप सम्मेलनमा सहभागी हुने परराष्ट्र मन्त्रालयले जनाएको छ । राष्ट्रपति पौडेलले कात्तिक २७ र २८ गते हुने उच्चस्तरीय सत्रको ‘विश्व नेताहरू जलवायु कार्य शिखर सम्मेलन’मा सहभागी हुने छन् ।
उनले विश्वस्तरीय जमघटलाई कात्तिक २७ गते सम्बोधन गर्ने कार्यक्रम तय भएको परराष्ट्रले जनाएको छ । सम्मेलनका क्रममा नेपालले आफ्ना एजेण्डामाथि विश्वको ध्यानाकर्षण गराउन कात्तिक २८ गते राष्ट्रपति पौडेल नेतृत्वमा बेग्लै उच्चस्तरीय सत्र सञ्चालन हुनेछ ।सम्मेलनमा ‘पर्वतीय क्षेत्रमा जलवायुजन्य हानी तथा नोक्सानीको सम्बोधन’ विषयक उच्चस्तरीय बैठक हुने बताइएको छ ।
नेपाल जलवायुको असरबाट विश्वमा सबैभन्दा बढी प्रभावित मुलुकहरूमध्ये पर्छ । बैठकमा नेपालले मेलम्ची, मुस्ताङ, कञ्चनपुर, थामे, काठमाडौँ उपत्यकालगायत क्षेत्रमा असामान्य मौसमीजन्य घटनाका कारण आएको बाढीपहिरोबाट भएको क्षतिबारे जानकारी गराउनेछ ।
नेपालले जलवायु परिवर्तनसम्बन्धी विभिन्न महासन्धिको पक्ष राष्ट्रका हैसियतले सन् २०५० सम्म कार्यान्वयन गर्ने राष्ट्रिय अनुकूलन कार्यक्रम तयार गरी कार्यान्वयन गरिरहेको छ । नेपालका तर्फबाट सम्मेलन प्रस्तुत गर्ने ‘एजेण्डा’ बारे विभिन्न तहमा तयारी भइरहेको बताइएको छ । सम्मेलन यही कात्तिक २६ सुरू भइ मंसिर ७ गतेसम्म सञ्चालन हुनेछ ।