३ मंसिर, बर्दिया।
केही दिनअघि भारतबाट बर्दिया प्रवेश गरेको पाटेबाघको जिपीएस र ड्रोनबाट निगरानी भइरहेको छ ।
मंसिर ५ गते राति बर्दिया प्रवेश गरेको सो पाटेबाघबारे सम्पूर्ण जानकारी प्राप्त भइरहेको बर्दिया राष्ट्रिय निकुञ्ज कार्यालयले जनाएको छ । निकुञ्जका वरिष्ठ संरक्षण अधिकृत डा. अशोककुमार रामका अनुसार सो बाघको घाँटीमा रेडियो कलर जडान गरिएकाले जिपीएसबाट निगरानी गर्न सम्भव भएको हो ।
करिब ७/८ वर्षको भाले पाटेबाघ मधुवन–२ स्थित कर्तनियाघाटहुँदै खाता करिडोर भएर नेपाल प्रवेश गरेको थियो । त्यसपछि गोविन्दपुर बग्नाहा वन क्षेत्रहुँदै ज्योतिपुरको वन क्षेत्रमा प्रवेश गरेको देखिएको छ । जिपीएस ट्याक गर्दा त्यहाँबाट हर्नवा गएको र अहिले कुसुम्बा र कृष्णसार संरक्षण क्षेत्रमा देखिएको छ ।
२ दिनदेखि उक्त क्षेत्रमा रहेको झोलुंगे पुलदेखि १ किलोमिटर दूरी रहेको जंगल क्षेत्रमा सो बाघ रहेको निकुञ्जले जनाएको छ । पाटेबाघले दैनिक करिब ५ देखि ६ किलोमिटरसम्म यात्रा गरिरहेको छ ।
सो बाघलाई निकुञ्जले भारतीय पक्षसँग समन्वय गरेर निगरानी गरिरहेको निकुञ्जका वरिष्ठ संरक्षण अधिकृत रामले बताए । सो बाघका कारण मधुवन र ठाकुरबाबा नगरपालिका क्षेत्रमा उच्च सतर्कता अपनाउन सर्वसाधारणलाई आग्रह गरिएको छ । निकुञ्जले पनि कार्यालयबाट जिपीएसका माध्यमबाट निगरानी गर्नुका साथै ड्रोनसहित ६ जना प्राविधिकको टोली खटाएको छ ।
पछिल्लो २ दिनयता बाघ एउटै स्थानमा रहेकाले आहारा भेटाएको वा धेरै थाकेको हुनसक्ने निकुञ्जका अधिकारीहरूको अनुमान छ । यस्तै, भारतबाट आएकाले निकुञ्ज क्षेत्रका अन्य बाघसँग जम्काभेट हुँदा भिडन्त पनि हुनसक्ने सम्भावना देखिन्छ ।
हालसम्मको निगरानीमा खासै खतराका संकेत नदेखिएको जनाइएको छ । निकुञ्जका अनुसार सो पाटेबाघ पुग्न सक्ने सम्भावित क्षेत्रका प्रहरी पोस्ट, स्थानीय सरकार र अन्य पक्षलाई सतर्क रहन आग्रह गरिएको छ । बर्दिया राष्ट्रिय निकुञ्जमा बाघको संख्या १ सय २५ पुगेको छ । तीमध्ये ५० वटा वयस्क बाघ छन् ।