रेस्टुरेन्टमा रमाए गिद्ध

८ फागुन, नवलपरासी।  
कावासोती नगरपालिकाको पिठौलीमा स्थापना गरिएको जटायु रेस्टुरेन्टमा रमाउन आउने गिद्धको संख्या बढ्दै गएको छ ।

यो समय गिद्ध घुम्ने मौसम भएकाले रेस्टुरेन्टमा गिद्धको संख्या बढ्दै गएको रेस्टुरेन्ट व्यवस्थापन समितिका अध्यक्ष डिबी चौधरीले बताए । आहारविहारको राम्रो व्यवस्थापन भएकाले हरेक वर्ष मंसिरदेखि वैशाखसम्म यहाँ गिद्ध यहाँ रमाउन आउने उनको भनाइ छ ।

‘एक वर्षयता मात्रै यहाँ ३२ वटाभन्दा बढी गिद्धको मृत्यु भइसकेको छ । जटायु संरक्षणका लागि २२ वर्षअघि स्थापना गरिएको जटायु रेस्टुरेन्ट पछिल्लो समय अध्ययन केन्द्रका रूपमा पनि विकास हुँदै गएको छ’, चौधरीले भने ।

लोपोन्मुख अवस्थाका गिद्ध संरक्षण गर्ने अवधारणाले यहाँ गिद्धका लागि रेस्टुरेन्ट स्थापना गरिएको थियो । अहिले यहाँ जैविक विविधता, पर्यापर्यटन एवं वन तथा वातावरण अध्ययन गर्ने विद्यार्थी तथा सोधकर्ताहरू गिद्ध, तिनका प्रजाति, गिद्धको जीवनशैली र बासस्थानका विषयमा अध्ययन गर्न आउने गर्छन् ।

यहाँ गिद्ध अवलोकन र अध्ययन गर्नका साथै खाना खुवाउन आउनेको संख्या पनि बढेको छ । हाल साताको २ दिन अवलोकनका लागि खुला गर्ने गरिएको अध्यक्ष चौधरीले जानकारी दिए । गिद्धलाई पनि हप्ताको २ दिन खाना दिने गरिएको छ भने अन्य दिन उनीहरूले वातावरणमा घुमफिर गरेर खाने गर्छन् ।

पछिल्लो समय विषादियुक्त आहारा र बासस्थानमा आएको ह्रासका कारण बर्सेनि गिद्ध मासिँदै गएपछि नेपालमा पहिलो पटक चौधरीको अगुवाइमा समुदायस्तरबाट जटायु रेस्टुरेन्टको स्थापना गरिएको थियो ।

यहाँ लोपोन्मुख गिद्धलाई विषादीरहित आहारा उपलब्ध गराउने गरिएको छ । समुदायस्तरबाट नै रेस्टुरेन्टको सञ्चालन र व्यवस्थापन गरिएको छ । रेस्टुरेन्टले गिद्धको आहाराका लागि गाउँघरबाट मरेका गाईभैँसी ल्याएर दिने गरिएको छ ।

रेस्टुरेन्टको गौशालामा पालिएका गाईवस्तु मरेपछि गिद्धका आहाराका लागि उपलब्ध गराउने गरिएको छ । तर, गिद्धले डाइक्लोफेनेको प्रयोग गरी उपचार गराइएका पशुको सिनो खाएमा मिर्गौलामा असर भई केही दिनमा नै मर्ने गरेका अध्ययनकर्ताको भनाइ छ ।

त्यस्तै वासस्थानमा आएका ह्रासले पनि गिद्ध लोपोन्मुख अवस्थामा पुगेका छन् । पछिल्लो समय गिद्ध बस्ने तथा गुँड लगाउने सिमलका रुख मासिँदै गएपछि गिद्धको वासस्थानमा ह्रास आएको अध्ययनकर्ता बताउँछन् ।

प्रकृतिको कुचीकारका रूपमा रहेका गिद्ध संरक्षणका लागि ताकावासोती–१३ मा रहेको नमूना सामुदायिक मध्यवर्ती वनको करिब ७८ बिघा क्षेत्रफल उपलब्ध गराइएको छ । यो रेस्टुरेन्टमा नेपालमा पाइने ९ प्रजातिका गिद्धमध्ये ८ प्रजातिका आउने गरेका छन् । यहाँ अहिले रैथाने प्रजातिका डंगर, सेतो, सुन र सानो खैरो गिद्ध, राजगिद्ध, हिमाली गिद्ध, खैरो गिद्ध र लामो ठोडेगिद्ध छन् ।


-

-

Nature related News
Kathmandu, Nepal
phone: 01-4101181
Email: prakritipress@gmail.com

पढ्नै पर्ने

©2024- All Right Reserved. Designed and Developed by  EastlinkCloud