विज्ञहरू बुझ्दैछन् भीषण वर्षाको अवस्था

२९ असार, कञ्चनपुर  
गत साता कञ्चनपुर र आसपासका भेगहरूमा भएको गति भारी वर्षाको अवस्थाको तथ्य बुझ्न जल तथा मौसम विज्ञान विभागका मौसमविद्हरूको टोली स्थलगत अध्ययनमा खटिएको छ ।

विभागका वरिष्ठ मौसमविद् (मेटियोरोलोजिस्ट) डा. इन्दिरा कँडेल नेतृत्वको टोलीले दोधारा चाँदनीस्थित वर्षा मापन केन्द्रमा स्थलगत अध्ययन गरेको छ । दोधारा चाँदनीस्थित वर्षा मापन केन्द्रका साथै कञ्चनपुरको हनुमाननगर र सुन्दरपुर केन्द्रमा रहेको वर्षा मापन केन्द्रको पनि अध्ययन गरेको छ ।

वर्षा मापन केन्द्रको अवस्थासँगै यस वर्षको भीषण वर्षाबारे स्थानीयका विगतदेखिका अनुभव, जनप्रतिनिधि र अन्य सरोकारवालाका राय सुझाव लिइएको टोली प्रमुख कँडेलले बताइन् । कञ्चनपुर र आसपासका भेगहरूमा ७ दशकयताकै भीषण वर्षा रेकर्ड भएको छ ।

गत साता (२३–२४ असारमा) २४ घण्टाको अवधिमा सो क्षेत्रमा ६ सय २४ मिलिमिटर वर्षा भएको मौसम विज्ञान विभागले जनाएको छ । कञ्चनपुरको वर्षाको सो मात्रालाई नेपालमा वर्षा मापन सुरु भएयताको सबैभन्दा भीषण मानिएको छ ।

यसअघि १३ अगस्ट २०१७ मा २४ घण्टामा मकवानपुरमा ५ सय १६.२ मिलिमिटर वर्षा भएको थियो । त्यसअघि १५ अगस्ट २०१४ मा कैलालीको चिसापानीमा ४ सय ९९.८ मिलिमिटर वर्षा भएको विभागको अभिलेख छ । गत साता कञ्चनपुरको हनुमाननगरमा ५ सय ७३.६ र सुन्दरपुरमा ५ सय ५६.४ मिलीमिटर वर्षा मापन भएको थियो ।

स्थलगत अध्ययन अवलोकनको पूर्ण विवरण सार्वजनिक गर्न भने केही दिन लाग्ने कँडेलको भनाइ छ । २३ असारमा भारतको उत्तरप्रदेश र कञ्चनपुरमा शक्तिशाली न्यूनचापीय क्षेत्र विकास हुँदा कञ्चनपुरमा अतिभारी वर्षा भएको विभागका अधिकारीहरूको प्रारम्भिक विश्लेषण छ ।

यो वर्ष नेपालका अधिकांश स्थानमा औसत र कतिपय भेगहरूमा औसत भन्दा बढी वर्षा हुने दक्षिण एसियाली जलवायु दृष्टिकोण मञ्च (सास्कोप) र मौसम विभागको प्रक्षेपण छ । एक घण्टाको अवधिमा ५० मिलिमिटर र सो भन्दा बढी वर्षा भएमा मौसमविद्हरू भारी वर्षा मान्ने गर्छन् ।


-

-

Nature related News
Kathmandu, Nepal
phone: 01-4101181
Email: prakritipress@gmail.com

पढ्नै पर्ने

©2024- All Right Reserved. Designed and Developed by  EastlinkCloud