शक्तिशाली यागीले भियतनाममा ६० जनाभन्दा बढीको मृत्यु

२५ भदौ, काठमाडौं  
‘यागी’ नामक शक्तिशाली आँधीले भियतनाममा ६० जनाभन्दा बढीको मृत्यु भएको छ । उत्तरी भियतनामको फुथोक प्रान्तस्थित फोङचाउ पुल भत्किएर सवारी साधनहरू रेड नदीमा खस्दा कम्तिमा १३ जना बेपत्ता छन् ।

२ सय ५० हाराहारी व्यक्ति घाइते छन् । ठाउँ–ठाउँमा बाढी र पहिरोले सडक अवरुद्ध भएपछि विद्यालयहरू बन्द गरिएका छन् । विद्युत आपूर्ति रोकिएपछि १५ लाख भन्दा बढी मानिसको जनजिवन प्रत्यक्ष प्रभावित बनेको बिबीसी लगायतका सञ्चार माध्यमले उल्लेख गरेका छन् । आँधी जोखिम तटीय क्षेत्रबाट करिब ५० हजार व्यक्तिलाई सुरक्षित स्थानमा सारिएको छ ।

आँधी शक्तिशाली र विनाशकारी भएकाले यसलाई ‘सुपर टाइफुन’ भनिएको छ । ‘सुपर टाइफुन’ शनिबार भियतनामको भूमिमा बज्रिएको थियो । तीन दशकपछिको शक्तिशाली यागीको वेग २ सय ३ किलोमिटर प्रतिघण्टाको थियो । यो वर्ष (सन् २०२४मा) एसियाली क्षेत्रको यो सबैभन्दा शक्तिशाली आँधी हो । चीनको गुआङडोङ प्रान्तहुँदै यो आँधी भियतनाम प्रवेश गरेको थियो ।

आँधीले रेड नदी माथिको ३ सय ७५ मिटर लामो पुल आधा भत्किएको छ । पुलमा गुडिरहेका लरी, कार, स्कुटर लगायतका साधन नदीमा खसेका र त्यहाँबाट खसेका केहीको उद्धार गरिए पनि १३ जना हराइरहेका सरकारी अधिकारीहरूको भनाइ उद्धृत गर्दै सञ्चारमाध्यमहरूले उल्लेख गरेका छन् । आँधीले चीन र फिलिपिन्समा पनि क्षति पुर्याएको सिन्ह्वालगायतका अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका छन् । चीनको हाइनान र गुआङडोङ प्रान्तका बस्ती प्रभावित छन् ।

दक्षिणी चीनका वस्ती र सहरहरू गत सातादेखि नै प्रभावित भएका थिए । आँधीको असर कम भएपछि चीनमा अहिले पुनस्थापनाको काम जारी छ । यागी दक्षिणी चीन सागर पार गरी पश्चिमी चीनको हाइनानहुँदै शुक्रबार दिउँसो गुआङडोङ पुगेको थियो ।

विभिन्न एजेन्सीको सहयोगमा ।


-

-

Nature related News
Kathmandu, Nepal
phone: 01-4101181
Email: prakritipress@gmail.com

पढ्नै पर्ने

©2024- All Right Reserved. Designed and Developed by  EastlinkCloud