यागी आँधी प्रभावः म्यान्मामा बढ्यो, भियतनाममा घट्यो

२८ भदौ, काठमाडौं  
यागी नाम दिइएको चक्रवातको प्रभाव भियतनाममा कम हुन थालेको छ भने म्यान्माका कैयौँ क्षेत्रमा वृद्धि भएको छ ।

उत्तरी भियतनाम, लाओस, थाइल्यान्ड र म्यान्मा क्षेत्रहरूमा यागीको कारण बाढी र पहिरोले विपत्ती निम्त्याएको छ । यागीका कारण प्रभावित देशहरूमा मृत्यु हुनेको संख्या २ सय ८० पुगेको छ । जसमध्ये भियतनाममा मात्र २ सय ३३ र म्यान्मामा ३६ जना छन् । यद्यपि, धेरै मानिसहरू बेपत्ता भएका कारण मृतकको संख्या अझै बढ्नसक्ने अनुमान गरिएको छ ।

म्यान्माको अग्नि नियन्त्रण सेवाले शुक्रबार १७ जनाको मृत्यु भएको पुष्टि गरेको छ भने आँधीले निम्त्याएको विपतका कारण ५० हजारभन्दा बढी मानिसहरू विस्थापित भएको जनाएको छ । म्यान्माको राजधानी वरपरको क्षेत्रमा यागीले निम्त्याएको बाढीका कारण पहिरो आउदा विजुलीका टावर, भवन, सडक, पुल र घरहरू ध्वस्त भएको सरकारी सञ्चारमाध्यमले जनाएका छन् ।

सामाजिक सञ्जालमा पोस्ट गरिएको फुटेजमा यस क्षेत्रमा गाउँलेहरूले सुरक्षित स्थानमा पुग्न हात्तीमा चढेको देखाइएको छ । भियतनाममा मौसममा सुधार आएसँगै सफा आकाशमुनि राजधानी हनोईका केही भागमा पानी कम भएपछि बासिन्दाहरू सडकबाट भग्नावशेष र हिलो सफा गर्न घरबाहिर निस्केको देखिएको छ ।

यागीका कारण उत्तरी थाइल्यान्ड प्रभावित हुँदा म्यान्मा सीमामासमेत सबैभन्दा खराब बाढी आएको थियो । प्रधानमन्त्री पेतोङ्तार्न सिनावात्राले सेनाको नेतृत्वमा भइरहेको राहत कार्यको मुल्याङ्कन हेर्न शुक्रबार चियाङ राईको भ्रमण गर्ने तय भएको छ । यसैबीच, लाओसको राजधानी भियन्तियानसहित मेकोङ नदीको किनारमा रहेका धेरै स्थानहरूमा बाढीको चेतावनी दिइएको छ भने मेकोङ नदी आयोगले भियन्तियान वरपरका न्यून उचाई भएका क्षेत्रमा आगामी दिनमा बाढी आउने अनुमान गरेको छ ।

रासस


-

-

Nature related News
Kathmandu, Nepal
phone: 01-4101181
Email: prakritipress@gmail.com

पढ्नै पर्ने

©2024- All Right Reserved. Designed and Developed by  EastlinkCloud