१० असोज, म्याग्दी
ढोरपाटन सिकार आरक्ष पूर्वी रूकुम, बागलुङ र म्याग्दी जिल्लामा फैलिएको छ । १ हजार ३ सय २५ वर्गकिलोमिटर क्षेत्रफलमा फैलिएको यो आरक्षको ६० प्रतिशत पूर्वी रूकुम, २६ प्रतिशत बागलुङ र १४ प्रतिशत भूगोल म्याग्दीमा पर्छ । २०४४ सालमा घोषणा गरिएको यो नेपालको एकमात्र सिकार आरक्ष हो ।
यो आरक्ष पर्यटनका लागि मात्र नभएर ढोरपाटनको जैविक, सांस्कृतिक, पर्यटकीय, धार्मिक लगायत धेरै अवसरहरू छन् । हरेक वर्षको वसन्त र शरद्याममा ढोरपाटनमा सिकार खेल्न विश्वका सौखिन र धनाढ्य सिकारीहरू आउँछन् । कम्पनीहरूले ठेक्का प्रतिस्पर्धामार्फत सरकारलाई राजस्व तिरेर सिकार गर्न पर्यटक ल्याउँछन् । यहाँ ३२ प्रजातिका स्तनधारी वन्यजन्तु र १ सय ३७ प्रजातिका पक्षीहरू छन् ।
आरक्षलाई सुनदह, सेङ, दोगाडी, बार्से, फागुने, सुर्तिवाङ, घुस्तुङ ब्लगमा विभाजन गरी सिकार खेल्न दिने व्यवस्था मिलाइएको छ । आर्थिक वर्ष २०८०/८१ मा १९ वटा नाउर र ११ वटा झारल सिकारबाट ४ करोड २६ लाख ८८ हजार ७ सय रूपैयाँ राजस्व संकलन भएको छ । आव २०६७/६८ देखि हालसम्म ३ सय ९४ नाउर, झारल र रतुवाको सिकार भएको छ । सन् २०२२ मा नाउरको गणना गर्दा ७९ वटा झुण्डमा १ हजार २ सय ९० भेटिएका थिए ।
आव २०७९/८० मा १९ नाउर र ११ झारल, २०७८/७९ मा १७ नाउर र ८ झारल, २०७७/७८ मा १० नाउर र ६ वटा झारलको सिकार भएको थियो । सिकार कम्पनी ग्लोबल सफारी काठमाडौंका सिकार गाइड मानबहादुर पुनका अनुसार स्पेन, अमेरिका, रूस, अमेरिका, जर्मनी, फ्रान्स, बेलारूसलगायत देशका सिकारीहरू सिकार खेल्न आउँछन् । ‘विश्वका धनाढ्य व्यक्तिहरू जंगली जनावरको सिकारको सोख पूरा गर्न करोडौं खर्चेर ढोरपाटन आउने गरेका हुन्’, १३ वर्षदेखि सिकार गराउँदै आएका उनले भने, ‘युवादेखि ७४ वर्षका वृद्ध पनि सिकार खेल्न आउने गर्दछन् ।’
वार्षिक १५ हजार पर्यटकको आगमन
विदेशी सिकारीका अलावा पछिल्ला केही वर्षयता देशका विभिन्न ठाउँबाट आन्तरिक पर्यटक ढोरपाटन घुम्न आउने क्रम बढेको छ । आरक्षका रेञ्जर सागर सुवेदीका अनुसार आव २०८०/८१ मा १५ हजार ५७३ जनाले भ्रमण गरेको ढोरपाटनमा पर्या–पर्यटन शिर्षकमा १९ लाख ३३ हजार ७ सय रूपैयाँ राजस्व संकलन भएको थियो ।
ढोरपाटन उपत्यकाको प्रवेशविन्दु देउरालीमा आरक्ष र नेपाली सेनाको पोस्टमा पर्यटकको विवरण राख्ने र शुल्क लिने गरिन्छ । ढोरपाटन घुम्न नेपालीले प्रतिव्यक्ति १ सय, सार्क राष्ट्रकाले प्रतिव्यक्ति १ हजार ५ सय र अन्य देशकाले ३ हजारका दरले शुल्क तिर्नुपर्छ । गत आवमा ४ करोड ७१ लाख २ हजार ६ सय २८ रूपैयाँ राजस्व संकलन भएको छ । अघिल्लो आव २०७९/८० मा ३ करोड ४८ लाख राजस्व संकलन भएको थियो । सहज यात्रा गर्दै सिकार गर्न पाउने अवस्था भएर बढी बढाउनमा सिकारी छानिने अवसरले राजस्व बढेको आरक्षले जनाएको छ ।
गत आवमा सार्क राष्ट्रका ४ र अन्य देशका १ सय २ जना पर्यटक ढोरपाटन आएका थिए । सडक यातायात, होटल तथा घरवास सुविधा, सञ्चार माध्यम र सामाजिक सञ्जालका कारण बुकी फुलेको हेर्न, फोटो, भिडियो खिचेर सामाजिक सञ्जालमा राख्न र प्रकृतिमा रमाउन दैनिकजसो पर्यटक आउने गरेका ढोरपाटन सामुदायिक घरवास (होमस्टे)का सञ्चालक रामबहादुर घर्तीमगरले बताए । ढोरपाटनमा रहेका २१ वटा होटल र होमस्टेमा दैनिक ३ सय जना बास बस्न सक्ने क्षमता छ ।
ढोरपाटनको आकर्षण
सुन्दर पाटन, आकर्षक गाउँ, मनै लोभ्याउने हिमाल, पृथक रहनसहन, परम्परागत रूपमा बनेका घर–गोठहरू र घोडचडी ढोरपाटनको थप आकर्षण र विशेषता हो । सिकार आरक्ष कार्यालय परिसरको सूचना केन्द्र छ । आरक्ष क्षेत्रमा पाइने वन्यजन्तुबारे जानकारीसहित विभिन्न जनावर र पशुपछीको छालासमेत संग्रहालयमा राखिएको छ ।
ढोरपाटनमा उत्तरगंगाको ढोरबराह मन्दिर, उत्तरगंगा, रुद्रताल, छेन्टुङ गुम्बालगायत मठमन्दिर छन् । जनैपूर्णिमा, शिवरात्रिलगायत विभिन्न पर्वमा यहाँ तीर्थालुको भिड लाग्छ । ढोरपाटन आरक्ष कार्यालयको ३ किलोमिटर पूर्वमा रहेको छेन्टुङ गुम्बा र तिब्बती बस्ती ढोरपाटनको अर्को आकर्षण हो । तिब्बती शरणार्थीका जनजीवन, संस्कृति र रहनसहन बुझ्न छेन्टुङ पुग्नैपर्ने गन्तव्य हो । ढोरपाटनबाट २२ किलोमिटर दूरीमा रहेको जलजलाबाट हिमाल, सूर्योदय र पहाडी भूगोलको मनोरम दृश्य अवलोकन गर्न सकिन्छ ।
ढोरपाटन उपत्यकाको पुरानो हवाई मैदान, उत्तरगंगा, स्यालपाखे, नवी र तिब्बती शरणार्थी क्याम्पसम्म घुम्ने गर्छन् । त्यसका साथै गुर्जाघाट, जलजला र माथिल्लो भागमा बुकीलगायतका बस्ती यहाँका अन्य रमणीय स्थान हुन् । पर्यटकको बसाई लम्बाउन सहायक गन्तव्य पहिचान गरेर संघीय, प्रदेश सरकार र नगरपालिकामार्फत पूर्वाधार निर्माण थालिएको ढोरपाटन पर्यटन प्रर्वद्धन विकास संस्थाका सचिव जीवन पुनले बताए । यसवर्ष पाखाथरमा होमस्टे सञ्चालन, काडेको डाडाखेदी किटेनी जोड्ने पदमार्ग र गर्पाछेडाको बुकीमा ‘ब्लु सिप गोठ स्टे’ सञ्चालन गरेका छन् ।
बुकी, पशुपालन र पर्यटन
ढोरपाटन सिकार आरक्ष समुन्द्री सतहदेखि २ हजार मिटर उचाइको रुकुमको तकसेरादेखि ७ हजार २ सय ४३ मिटर उचाइएको चुरेन हिमालसम्म फैलिएको छ । स्थानीयवासीले हिमाली क्षेत्रका पाटनलाई बुकी भन्ने हुँदा त्यहाँ फुल्ने फूलहरूलाई बुकी फूल भन्ने गरिएको हो । बर्खायाम सुरू भएपछि पूर्वी रुकुम, म्याग्दी र बागलुङका किसानले पालेका गाईभैंसी, भेडा, बाख्रा, घोडालाई घाँस खुवाउन बुकीतर्फ उकालो लाग्छन् ।
बेंसीका खेतबारीमा बाली लगाएपछि ठूलो संख्यामा पालिने वस्तुभाउलाई पोषिलो घाँस खुवाउन बुकी लैजाने चलन छ । वैशाखमा लेकतिर उक्लिएका गोठालाहरू असोजमा मात्र बेंसी झर्ने चलन छ । गोठाला जनजीजवन नियाल्नका बुकीको यात्रा रोमाञ्चक अवसर हो । पर्यटक घोडा चढेर रमाउँछन् । बुकीको पोषिलो घाँस खाएका बस्तुभाउ निरोगी, मोटा हुने र दूध तथा मासुको उत्पादन बढी हुने किसान लछुमन थापा बताउँछन् । बुकीफूलको ढोरपाटन र आसपासका गाउँहरूमा मनाइने चाडपर्व, धर्म, संस्कार र संस्कृतिसँग गाँसिएको छ ।
भूमे पुजामा युवायुवतीले फूल टिपेर एक अर्कालाई दिने चलन छ । साउने सङ्क्रान्तिमा बुकी फूल जम्मा पारेर लेक र गाउँका देवता पुज्ने गर्छन् । मगराँत क्षेत्रको प्रमुख मानिने उत्तरगंगा ढोरबराहमा जनै पूर्णिमामा लाग्ने मेला ढोरपाटनलाई बुकी फूलले ढाकेको समयमा लाग्ने गर्छ । ढोरपाटनमा ढकमक्क फूल फुलेर स्वर्गजस्तो बनेको जनैपूर्णिमाको दिन पारेर यहाँ बलि राजा प्रकट भएका र उनको स्वागतका लागि मेला लगाउने चलन छ । आरक्षका संरक्षण अधिकृत मण्डिप पँगेनीका अनुसार साउनदेखि असोजको पहिलो हप्तासम्म बुकी फुल्ने गर्छ । ‘बर्खायाममा ढोरपाटनको आकर्षण नै बुकी हो’, उनले भने, ‘यहाँ पाइने फुलहरूको जात पहिचान र अभिलेखीकरणको काम थालेका छौँ ।’
संरक्षण अधिकृत पशुपति अधिकारीले आरक्ष क्षेत्रमा फाइने १३ प्रजातिका फरकफरक फूलको तस्बिर र स्थानीय नाम संकलन गरेका छन् । ओठफुटे, काप्चुच्चे, दहीठेकी, दूधे, नाकेफुली, पुतली, प्याउली, फट्याङग्री, बिजौरी, बुकी (१), (२), (३), बोक्सी, मदाने र राके स्थानीय नाम गरेका फूलको तस्बिर संकलन भएको छ । यीबाहेक कप्टेरी, भुइँपाटी, बटारे, घोप्टे, अतिशलगायतका फूल पनि बुकीको पाटनमा फुल्ने गर्छन् । वर्षाको समयमा मात्रै फुल्ने यी फूलहरू असोज लागेपछि सुक्न थाल्छन् । बुकी फूलको बारेमा वैज्ञानिक अध्ययन अनुसन्धान भएको छैन ।
संकलन भएका तस्बिरहरूलाई सम्बन्धित विज्ञहरूको सहयोगमा अंग्रेजी र वैज्ञानिक नाम पहिचान गर्ने तयारी गरेको संरक्षण अधिकृत पंगेनीले बताए । आरक्षले फूलहरूलाई संरक्षण गर्न चरन क्षेत्रबाट ट्याक्टरमा गाईवस्तुको मल उठाउन रोकेको छ । सिमसार क्षेत्रमा गाईवस्तुले गोब्राउने भएकाले मलिलो माटोमा फूलका बोटबिरूवा सजिलै हुर्कन्छन् ।
यहाँसम्म कसरी पुग्ने ?
पोखरादेखि मध्यपहाडी लोकमार्ग भएर बस, गाडी वा मोटरसाइकलमा बागलुङ सदरमुकामहुँदै झन्डै ५ घन्टामा बुर्तिबाङ पुगिन्छ । बुर्तिबाङ पुगेपछि लोकमार्ग छाडेर अधिकारीचौर, बोबाङहुँदै ३६ किलोमिटर कच्ची सडकमा जिप र मोटरसाइकलमा २ देखि ३ घण्टामा ढोरपाटन पुगिन्छ । म्याग्दीको बेनीहुँदै धवलागिरि गाउँपालिकाको मुनासम्म ४५ किलोमिटर सडकमा र त्यसपछि मरेनी जलजलाहुँदै २ दिन पैदलयात्रा गरेर ढोरपाटन पुगिन्छ । पूर्वी रूकुमको टकसेराहुँदै पनि ढोरपाटन आउन सकिन्छ । गुरील्ला पदमार्गले समेटिएको ढोरपाटनहुँदै डोल्पा पनि जान सकिन्छ ।
ढोरपाटन सिकार आरक्ष पुग्ने सडकको पहुँचमार्ग बागलुङको बुर्तीवाङबाट छ । ढोरपाटन घुम्न जाने धेरैजसोले बुर्तिबाङ–ढोरपाटन सडक प्रयोग गर्छन् । ढोरपाटनबाट लाभ लिनका लागि म्याग्दीहुँदै जलजला र ढोरपाटन जोड्ने सडक निर्माण कार्यलाई जतिसक्दो छिटो सम्पन्न गर्नुपर्ने धवलागिरि गाउँपालिकाका अध्यक्ष प्रेमप्रसाद पुनले बताए । ‘बागलुङको बुर्तिबाङभन्दा म्याग्दीबाट ढोरपाटन पुग्न ४० देखि ४५ किलोमिटर नै छोटो पर्छ’, उनले भने, ‘बेनीदेखि दरवाङ, मुना, खोरियाहुँदै मरेनीसम्म पुगेको सडकलाई स्तरोन्नति गर्ने र मरेनीदेखि जलजला जोड्ने सडकको मार्ग खोल्ने कार्यलाई प्राथमिकता दिएका छौँ ।’
यस वर्षपनि मरेनी जलजला ढोरपाटन जोड्ने सडकका लागि संघीय सरकारबाट ६ करोड ६० लाख रूपैयाँ विनियोजन भएको छ । ढोरपाटन उपत्यकादेखि छेन्तुङ, गुर्जाघाटहुँदै जलजलासम्म २२ किलोमिटर सडकको मार्ग खुलिसकेको छ । यो सडकमा पर्ने विभिन्न ठाउँका खोलामा कजवे, कल्भर्ट र मोटरेबल पुल बनाउन आवश्यक छ । ढोरपाटनदेखि पूर्वी रूकुम सडकले जोडिन ९ किलोमिटर मात्र बाँकी छ । म्याग्दी, ढोरपाटन र पूर्वी रूकुम सडकले जोडिएमा मध्यपहाडी लोकमार्गको बागलुङ खण्डको विकल्प बन्न सक्छ । बागलुङहुँदै पूर्वी रूकुम पुग्नुभन्दा म्याग्दीबाट जाँदा ६५ किलोमिटर छोटो पर्ने धवलागिरि गाउँपालिकाका उपाध्यक्ष रेशम पुन मगरले बताए ।
ढोरपाटनलाई सडक सञ्जालसँग जोड्ने र स्तरोन्नति गर्ने योजनालाई म्याग्दीका सबै राजनीतिक दल तथा सरोकारवालाहरुले प्राथमिकता दिएका छन् । गण्डकी प्रदेश सरकारले बेनी–दरवाङ सडक स्तरोन्नतिलाई पूर्णता दिने र दरवाङदेखि धारापानी ताकम मुना जोड्ने सडकलाई स्तरोन्नति गर्न प्राथमिकता दिएको पूर्वमन्त्रीसमेत रहेका प्रदेश सांसद रेशमबहादुर जुग्जालीले बताए । उनका अनुसार धारापानीदेखि शिवाङ जोड्ने ४ किलोमिटर सडक स्तरोन्नतिका लागि यस वर्ष २५ करोड रूपैयाँ विनियोजन भएको छ । दरवाङ धारपानी र शिवाङ– मुना सडक कालोपत्र गर्ने लक्ष्यसहित यसै वर्ष संघीय र प्रदेश सरकारको साझेदारीमा कार्यान्वयन हुनेगरी १ अर्बको आयोजना भित्रिएको छ ।
बेनीदेखि मुनासम्मको सडक कालोपत्र र मुना खोरीया जलजलाहुँदै ढोरपाटन सडकले जोड्न सकिएमा पोखरा, काठमाडौंका पर्यटक तथा रूकुम, जाजरकोटका बासिन्दालाई ढोरपाटन भित्र्यउन र आवतजावत गराउन सकिन्छ । यसबाट म्याग्दीको पश्चिम क्षेत्रको समग्र विकासमा टेवा पुग्ने र आर्थिक समृद्धि हासिल हुने अपेक्षा गरिएको छ ।