बाढी प्रभावित बस्तीमा खानेपानी समस्या

१६ असोज, सर्लाही   
अविरल वर्षापछिको बाढी तथा डुबानले सर्लाहीमा २ हजार ५ सय ३३ परिवार प्रभावित भएका छन् । लगातारको वर्षापछि वाग्मती नदी, लखन्देही, झिम, सोती, मनुस्मारालगायत खोलामा बाढी आएको थियो ।

बाढीले बाँध फुटाएर गाउँमा पसेपछि जिल्लाको दक्षिण पश्चिमका ८ वटा पालिका प्रभावित भएका हुन् । बाढी तथा डुबानमा परेर २ सय ९० घर पूर्ण रुपमा नष्ट भएका छन् भने ५ सय ७४ घरमा आंशिक क्षति पुगेको जिल्ला विपद् व्यवस्थापन समिति संयोजक एवं प्रमुख जिल्ला अधिकारी गोपालप्रसाद अधिकारीले जानकारी दिए ।

यस्तै, जिल्लामा एक हजार ६ सय ६९ घर बाढी पसेर डुबाएको छ । बाढी तथा डुबानमा घरबास गुमाएका परिवार नजिकैका आफन्तकामा शरण लिएर बसिरहेका प्रजिअ अधिकारीले जानकारी दिए । केहीलाई स्थानीय प्रशासनले नजिकैका सार्वजनिक भवन तथा धर्मशालामा राखेका छन् । विस्थापितहरूलाई प्रहरी प्रशासनले खानेपानी तथा चिउरा, चाउचाउलगायत खाद्यान्न समेत वितरण गरिरहेका उनले बताए ।

बलरा नगरपालिकाको ११ वडामा १ सय ६ वटा घर पूर्ण रूपमा र २ सय ८२ घरमा आंशिक क्षति पुगेको छ भने ५ सय ८ घर बाढीमा डुबेको छ । बाढीमा डुबेका घरमा समेत कम्मर कम्मरसम्म पानी जमेकाले बस्न सक्ने अवस्था नरहेको बलरा नगरपालिकाका प्रमुख रामाशंकरप्रसाद कुशवाहले जानकारी दिए । क्षतिको विवरण संकलन भइरहेको जिल्ला विपद् व्यवस्थापन समितिले जनाएको छ ।

स्थानीय तह, विभिन्न संघ÷संस्थासँगको सहकार्यमा राहत पु-याउने  काम गरिरहेको प्रजिअ अधिकारीले बताए । यस्तै, रामनगर गाउँपालिका–१, २, ६ र ७ का गाउँमा ८१ घरमा पूर्ण रूपमा र ९० घरमा आंशिक क्षति पुगेको छ भने ३ सय ३० घर डुबानमा परेका छन् । जिल्लाको ब्रह्मपुरी गाउँपालिकामा पनि झिम नदीको बाढी पस्दा त्रिभुवननगर गाउँका ४० घरमा आंशिक क्षति पुगेको छ भने १ सय ९० घर बाढीले डुबानमा पारेको छ ।

वाग्मती नदीको बाँध फुटेर पसेको पानीले बसवरिया गाउँपालिका–२, ढापटोलमा आठ घरमा पूर्ण क्षति पुगेको छ भने १ सय १७ घर डुबानमा परेका छन् । यसैबीच, सोती खोलाको बाढीले बरहथवा नगरपालिका–४, हरपुर्वा गाउँमा ५ वटा घरमा आंशिक क्षति पु–याएको छ भने ४ घर डुबानमा परेको बरहथवा नगरपालिकाकी प्रमुख कल्पनाकुमारी कटुवालले जानकारी दिइन् ।

चन्द्रनगर गाउँपालिका–१, २, ३, ४ र ५ का विभिन्न गाउँमा गरी ३२ परिवारको घर पूर्ण रुपमा र ५२ घरमा आंशिक क्षति पुगेको छ भने ३ सय ७० घर डुबानमा परेका छन् । गाउँका अधिकांश कच्ची घरमा झिम नदीको बाँध फुटेर बाढी पसेको गाउँपालिका अध्यक्ष राजकुमार महतोले जानकारी दिए ।

जिल्लाको धन्कौल गाउँपालिका–३, ४, ५, ६ र ७ का गाउँमा बागमती खोलाको बाढी पसेको छ । यस पालिकामा ६३ वडा कच्ची घर पूर्ण रूपमा र १ सय ५ वटा घरमा आंशिक क्षति पुगेको पालिकाले जनाएको छ भने, ३ सय वटा घर डुबानमा परेका छन् । वाग्मती खोलाको बाढी बाँध भत्काएर गाउँतर्फ सोझिएको स्थानीय रामविनय महतोले बताए ।

बाढीले यस क्षेत्रमा तरकारी र धानबालीमा अत्यधिक क्षति पु–याएको छ भने उखुखेतीमा समेत आंशिक क्षति पुगेको स्थानीयको भनाइ छ । यस्तै, विष्णु गाउँपालिका–७, डुमला टोलमा पनि एउटा घरमा बाढीले पूर्ण रूपमा क्षति पु–याएको छ । बाढी तथा डुबानबाट प्रभावित अधिकांश स्थानमा अझै कम्मरसम्म पानी जमेका कारण स्थानीयलाई पकाएर खानसमेत समस्या भएको बताएका छन् ।

दाउरा भिजेको र ग्यास चुल्हो विपन्न परिवारको पहुँचमा नरहेका कारण समस्या भएको उनीहरूको गुनासो छ । तत्कालका लागि खाना पकाएर खाने व्यवस्था गरीदिन बसबरिया गाउँपालिका–२, ढापटोलका दीपेन्द्र ठाकुरले अनुरोध गरे । बाढी तथा डुबानमा रहेका अधिकांश गाउँका स्थानीयले स्वच्छ खानेपानी नपाएको गुनासो गरेका छन् ।

चापाकल पानीमा डुबेका र खानेपानीको दिगो व्यवस्था नभएका कारण दुषित पानीका कारण स्थानीय संकटमा रहेको बलरा नगरपालिका–१, निवासी चुनचुन महतोले बताए । स्थानीयले पहिलो आवश्यकताअनुसारको राहतसमेत नपाएको उनले गुनासो गरे । बाँस र माटोले बनेका खपडा, टायल र जस्ताको छाना भएका कच्ची घर डुबानमा परेर क्षति भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी नायब उपरीक्षक दीपक श्रेष्ठले जानकारी दिए ।


-

-

Nature related News
Kathmandu, Nepal
phone: 01-4101181
Email: prakritipress@gmail.com

पढ्नै पर्ने

©2024- All Right Reserved. Designed and Developed by  EastlinkCloud