१९ असोज, काठमाडौं
विश्व बैंकसँगको सम्झौताअनुसार नेपालले अबको एक महिनाभित्र कार्बन बिक्रीबाट १ अर्ब ६० करोड रूपैयाँ प्राप्त गर्दैछ ।
सन् २०१८ देखि २०२४ सम्म नेपालले तराईका १३ जिल्लाका वनजंगलमार्फत कार्बनडाइअक्साइड घटाएबापत सो रकम प्राप्त गर्न लागेको वन तथा वातावरण मन्त्रालयको रेड कार्यान्वयन केन्द्रले जनाएको छ ।
नेपालले तराई भूपरिधि कार्यक्रमअन्तर्गत वाग्मती नदीबाट महाकाली नदीसम्मका तराईका १३ जिल्लामा ६ वर्षमा २.४ मिलियन टन कार्बन सञ्चिति गरेबापत सो रकम पाउन लागेको हो । प्रतिटन कार्बनको ५ अमेरिकी डलरका दरले नेपालले यही अक्टोबरभित्र १ अर्ब ६० करोड प्राप्त गर्ने मन्त्रालयले जनाएको छ ।
वन मन्त्रालयका प्रवक्ता एवं सहसचिव बद्रीराज ढुंगानाका अनुसार विश्व बैंकसँग सुरूमा सम्झौता गर्दा उक्त रकम वन विकास कोषमार्फत आउनेगरी सम्झौता भएको थियो । अर्थ मन्त्रालयले मुलुकको कानूनी प्रावधानअनुसार त्यस्तो रकम सर्व सञ्चिति कोषमार्फत आउनुपर्ने र त्यसपछि मात्र वन विकास कोषमा हस्तान्तरण हुने भनेपछि विश्व बैंकले त्यसबारेमा स्पष्ट पार्न सरकारसँग अनुरोध गरेको उनले जानकारी दिए ।
कार्बन व्यापारबाट प्राप्त हुने रकम स्थानीय लाभग्राही आदिवास÷जनजाति समुदायमा ८० प्रतिशत खर्च गर्नुपर्ने प्रावधान छ । ‘यसका लागि सरकारले योजना बनाएर स्वीकृत गरिसकेको छ’, प्रवक्ता ढुंगानाले भने । कार्बन व्यापारका सम्बन्धमा खासगरी सन् २०१८ मा नेपालको राष्ट्रिय रेडप्लस रणनीति, राष्ट्रिय वन आधार तह स्वीकृत भएको थियो । त्यसपछि सन् २०१९ देखि २०२४ सम्म तराई भूपरिधिका १३ जिल्लामा कार्बन उत्सर्जन न्यूनीकरण कार्यक्रमअन्तर्गत कार्बन व्यापारबाट प्राप्त लाभको बाँडफाँड योजना तयार गरिएको थियो ।
उक्त कार्यक्रम १३ जिल्लाका १.७ मिलियन हेक्टरमा लागू भएको रेड केन्द्र प्रमुख एवं सहसचिव नवराज पुडासैनीले जानकारी दिए । नेपालको वन क्षेत्रबाट औसतमा प्रतिहेक्टर १ सय ६७ टन कार्बन सञ्चिति भएको छ । पुडासैनीले भने, ‘नेपालको तराई भूपरिधि क्षेत्रका १३ जिल्लामा कार्बन उत्सर्जन न्यूनीकरण कार्यक्रम सञ्चालन गरी सन् २०२८ सम्म करिब ३ करोड ४२ लाख टन कार्बनडाइअक्साइड ग्यास उत्सर्जन कम गर्ने लक्ष्य लिइएको छ । पहिलो चरणमा २०२३ मा मापन गर्दा २३ लाख टन कार्बन उत्सर्जन कटौती भएको छ ।’
‘लिफ कोलिजन’मा सम्झौता गर्दै नेपाल
पहिलो चरणको कार्बन व्यापारपछि नेपालका तर्फबाट ‘उत्सर्जन घटाउन वन वित्त बढाउने साझेदारी कार्यक्रम’ (लिफ कोलिजन) सम्बन्धी प्रस्ताव पेस भई सन् २०२१ नोभेम्बर ३ मा हस्ताक्षर भएको थियो । लिफ कोलिजन बजारमुखी तथा नतिजामा आधारित अमेरिका, बेलायत, नर्वे र दक्षिण कोरियासहित २६ निजी कम्पनीको साझेदारी संयन्त्र हो ।
घाना, ब्राजिल र कोष्टारिकाले यसमा कार्बनको मूल्य निर्धारण गरी सम्झौता गरिसकेका छन् । नेपालले आगामी नोभेम्बर ११ देखि २२ सम्म अजरबैजानको बाकुमा हुने जलवायुसम्बन्धी २९औँ अन्तर्राष्ट्रिय सम्मेलनका बेला त्यस्तो सम्झौता गर्ने तयारी गरेको मन्त्रालयले जनाएको छ । यसमा वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशस्थित वनमा सञ्चित कार्बन बिक्री गर्नका लागि आवश्यक तयारीसम्बन्धी क्रियाकलाप सञ्चालन गरिएको सहसचिव पुडासैनीले जानकारी दिए ।
नेपालले सन् २०२८ सम्मका लागि हुने यस सम्झौताअनुसार उक्त प्रदेशहरूमा ३.२ मिलियन हेक्टर वन क्षेत्रमा सात मिलियन टन कार्बन सञ्चिति गरिनेछ । यस कार्बन सञ्चितिबापत नेपालले १ सय मिलियन अमेरिकी डलर रकम प्राप्त गर्नेछ । यस सम्झौतामा कार्बनको मूल्य निजी कम्पनीसँग प्रतिटन २५ डलर र सार्वभौम मुलुकसँग १० डलर प्रतिटन निर्धारण हुनेछ ।
कार्बन व्यापारसम्बन्धी विज्ञ तथा मन्त्रालयका पूर्वसहसचिव पुरूषोत्तम घिमिरेले कार्बन व्यापारका सम्बन्धमा वन मन्त्रालयले निजी क्षेत्रलाई स्वागत गरेर अघि बढ्न सके मात्र सफलता प्राप्त हुने धारणा राखे । उनले भने, ‘कार्बन व्यापार गर्ने निजी क्षेत्रलाई नल्याई सम्भव हुँदैन । निजी क्षेत्रलाई यसमा अनुमति दिइसकेपछि कानूनी दायरामा राखेर नियमन गर्दा हुन्छ, बाँकी काममा भने स्वतन्त्रता दिनुपर्छ । हरेक पटक मन्त्रालयले काममा हस्तक्षेप गर्न हुँदैन ।’ निजी क्षेत्रका जग्गामा वन जंगल उत्पादन गरेर कार्बन व्यापारका लागि प्रोत्साहन गर्नुपर्ने उनको भनाइ छ ।
‘रेडप्लस’ के हो ?
पृथ्वीको सबैभन्दा बाहिरी सतहमा रहेर पृथ्वीबाट परावर्तन भई बाहिर निस्किने तापिए किरणहरूलाई रोक्ने र पृथ्वीको तापक्रम क्रमिक रूपमा बढाउन भूमिका खेल्ने ग्यासहरूलाई हरितगृह ग्यास भनिन्छ । हरितगृह ग्यासहरूमा सबैभन्दा बढी भूमिका खेल्न सक्ने ग्यासका रूपमा कार्बनडाइअक्साइड ग्यासलाई मानिएको छ ।
त्यस्तै, जलवायु परिवर्तनको मुख्य कारण पनि विभिन्न स्वरूपमा रहेको हरितगृह ग्यासहरू वायुमण्डलमा प्रवेश गर्नुलाई मानिएको छ । वन विनाश तथा वन क्षयीकरणबाट हुने कार्बन उत्सर्जनलाई न्यूनीकरण गर्ने, वनको प्रभावकारी संरक्षण गर्ने र यसको दिगो व्यवस्थापनमार्फत कार्बन सञ्चिति क्षमता अभिवृद्घि गराउने कार्य गरेबापत विकासोन्मुख मुलुकलाई विकसित राष्ट्रहरुबाट प्रोत्साहनस्वरूप प्राप्त हुने भुक्तानीको अवधारणालाई समग्रमा रेडप्लस भनिएको हो ।
यस कार्यक्रमअन्तर्गत वन विनाशका माध्यमबाट हुने उत्सर्जन न्यूनीकरण, वन क्षयीकरणका माध्यमबाट हुने उत्सर्जन न्यूनीकरण, वन कार्बन सञ्चितिको संरक्षण, वनको दिगो व्यवस्थापन र वन कार्बनको सञ्चितिमा अभिवृद्धि गर्ने कार्य गरिन्छ ।
नेपालले पनि रेडमार्फत सन् २००८ देखि विभिन्न क्रियाकलाप गर्दै आइरहेको छ । सन् २०१८ मा तयार भएको राष्ट्रिय रेड रणनीति कार्बन व्यापार तथा रेडप्लस कार्यक्रमको कोसेढुंगा हो । रेडप्लस कार्यक्रमको सिलसिलामा नेपाल तयारी चरणबाट कार्यान्वयन चरणमा प्रवेश गर्न लागेको छ ।