बाढीले आरक्षका वन्यजन्तुमा क्षति

१२ कात्तिक, सुनसरी।  
गत असोज दोस्रो हप्ता सप्तकोशी नदीमा आएको ५६ वर्षयताकै ठुलो बाढीले जंगल क्षेत्र बगाउँदा कोशीटप्पु वन्यजन्तु आरक्षमा ठुलो क्षति पु¥याएको छ । सप्तकोशी नदीको पश्चिमी क्षेत्रमा रहेको आरक्षको जंगलमा बाढी पस्दा चराचुरुङ्गी तथा वन्यजन्तु बगाएको छ ।

वन्यजन्तु तथा चराको वासस्थान बाढीले बगाउँदा ठुलो क्षति पुगेको कोशीटप्पु वन्यजन्तु आरक्ष कार्यालयले जनाएको छ । प्रारम्भिक खोजीबाट आरक्षको पश्चिमी क्षेत्र भाकलपुरबाट करिब १० हजारको संख्यामा रूखमा गुँड लगाएर बसेका बकुल्लाको वासस्थान नै बगाएको छ ।

आरक्षमा २०६५ सालका कोशी फुटेयता सबैभन्दा बढी यस पटकको बाढीले क्षति पु¥यााएको कोशीटप्पु वन्यजन्तु आरक्ष कार्यालयका वरिष्ठ संरक्षण अधिकृत रामदेव चौधरीले बताए । उनका अनुसार ४ वटा अर्ना बाढीले बगाएकोमा २ वटा भारतीय क्षेत्रबाट आरक्षमा फर्किएका छन् । त्यस्तै ७ वटा चित्तल बाढीले बगाएको छ । बाढीले अन्य जनावर पनि बगाएको हुनसक्ने चौधरीले बताए ।

बढीसँगै नदी आसपासको आरक्ष जंगल जलमग्न हुँदा जनावर प्रभावित बनेका छन् । स–साना जीवजन्तु कति मरे, कतिको संख्यामा क्षति भए, घाइते भए भन्ने तथ्यांक विवरण आरक्ष कार्यालयसँग छैन । संरक्षण अधिकृत चौधरीका अनुसार ठुला जनावरको मात्रै तथ्यांक आरक्षसँग छ ।

कोशीटप्पुमा अर्ना ५ सय, चरा ५ सय ५३, जंगली हात्ती १२ वटा, फूल फुल्ने र नफुल्ने ५ हजार वनस्पति छन् । सप्तकोशी नदीमा १ सय २७ प्रजातिका माछा पाइने गरेको आरक्षले जनाएको छ । साना वन्यजन्तु चित्तल, लगुना, गोही, नीलगाई, बँदेल, स्याललगायतका जनावरको तथ्यांक भने नराखिएको चौधरीले बताए ।

वर्षायाम टरिसकेपछिको अविरल वर्षाले सप्तकोशी नदीमा ५ दशकयताकै पानीको उच्च बहाब मापन गरिएको थियो । बहाबले कोशी क्षेत्रका टापुमा रहेको जंगल क्षेत्रमा आश्रित नीलगाई, हरिण, बँदेल, खरायोलगायतका अन्य वन्यजन्तुको वासस्थान बगाएको छ । नदीले बेला–बेला धार परिवर्तन गर्दा नदी क्षेत्रमा बालुवाका टापु बन्ने गरेका छन् । त्यही टापुको घाँसे मैदानमा चरा र जनावर आश्रित हुँदै आएका थिए ।

अर्ना र चराका लागि प्रख्यात आरक्षमा गत वर्ष गैँडा (पुष्पा र अञ्जली) ल्याइएसँगै आरक्षको शोभा बढेको थियो । १ सय ७५ वर्गकिलोमिटर क्षेत्रफमा फैलिएको आरक्ष २०३२ सालमा स्थापना भएको हो । नेपालमा अति दुर्लभ मानिएको अर्नाको संरक्षण गर्नु आरक्षको मुख्य उद्देश्य हो । सुनसरी र सप्तरीलाई छोएर सप्तकोशी नदीभित्र बनेको बालुवाको टापुमा आरक्ष जंगल छ । टापु अर्ना र चराको मुख्य वासस्थानका रूपमा रहेको छ ।

चरा र वन्यजन्तु हेर्नकै लागि अमेरिका, बेलायत, फ्रान्स, चीन, रूस आदि देशबाट प्रत्येक वर्ष आरक्षमा पर्यटक भित्रिने गरेका छन् । विशेष गरी कोशीटप्पुमा चरा, नेपालको कोशीटप्पुमा मात्र पाइने अर्ना, गैँडा, हात्ती हेर्न आन्तरिक र बाह्य पर्यटक आउने गरेका छन् ।


-

-

Nature related News
Kathmandu, Nepal
phone: 01-4101181
Email: prakritipress@gmail.com

पढ्नै पर्ने

©2024- All Right Reserved. Designed and Developed by  EastlinkCloud