बेलौरी आइपुगे प्रवासी पक्षी

२४ मंसिर, कञ्चनपुर।  
कञ्चनपुरको बेलौरी नगरपालिका–६ स्थित पुरैनी तालमा प्रवासी पक्षी कलहाँस आइपुगेका छन् । उत्तरी धुव्र (आफ्नो थातथलो)मा चिसो बढेपछि प्रत्येक वर्ष पुरैनी तालमा कलहाँसलगायतका जलपक्षीका प्रजाति आइपुग्छन् ।

विगतका वर्षमा कात्तिकको अन्तिम हप्तामै पुग्ने कलहाँस यसपटक भने ढिलो गरी यो क्षेत्रमा आइपुगेका हुन् । ४० भन्दा बढीको संख्यामा कलहाँसको झुण्ड यहाँ आइपुगेको हो । तालमा यसअघिनै कैलेहाँस, विजला गैरी हाँस, हरियो टाउके हाँस, सुनजुरे हाँस, सुइरेपुच्छे हाँस, खडखडे हाँस, मालक हाँसलगायत पुगेका छन् ।

घरमै पालिने हाँसभन्दा केही सानो तर बखतभन्दा ठूलो जिउडालको कलहाँस हुने गर्दछ । यसको तौल ३ देखि ५ किलोसम्म हुने गर्छ । सुन्तला रङको चुच्चो, गुलाबी खुट्टा, गोलोभारी शरीर, लामो गर्दन, प्वाखको रङ खैरो हुने कलहाँस जलपक्षीमा सुुन्दर पक्षी हो ।

सेतो पुच्छर र पछाडिको छेउको साथ सादा, खैरो हुन्छन् । माथिल्लो भाग गाढा खैरो, टाउको, घाँटी हल्का खैरो र तल्लो भाग सेतो रङको हुन्छ । ‘कलहाँस ताल क्षेत्रमा पुगेपछि रौनक छाएको छ’, चरा संरक्षणकर्मी सुवन चौधरीले भने, ‘यस पक्षीले लस्करै जलविहार गरेको दृश्य मनमोहक हुन्छ ।’ उनका अनुसार कलहाँसले आहारका रूपमा सीमसार क्षेत्रमा उपलब्ध हुने घाँसलाई पूरै जरासहित खाने गर्दछन् । प्रजनन समयमा यस हाँसले सिमसार क्षेत्रमा गुँड बनाई बच्चा कोर्लने गर्दछ ।

शिकारका लागि ताल क्षेत्रमा विषादी राखेर मार्ने गरिएकाले यसको संख्या भने घट्दो छ । साइबेरिया, युरोपलगायतका क्षेत्रमा अत्यधिक चिसो बढेपछि बसाइँसराइ गरी आइपुग्ने कलहाँस गर्मी सुरू हुनअगावै पुरानै ठाउँमा फर्किने गर्छन् । चिसो छल्न र जलविहारका लागि मात्रै प्रवासी पक्षी यहाँ आउने गरेका छन् । प्रजननको समय सुरू हुनअगावै फर्किने गरेका छन् ।

जल पक्षीका लागि आश्रयस्थलका रूपमा रहेका तालतलैया र सिमसर क्षेत्रलाई संरक्षण गर्नुपर्ने चराविज्ञ हिरूलाल डगौरा बताउँछन् । सिमसार क्षेत्र मासिँदै जाँदा प्रवासी पक्षी आउने क्रममा केही वर्षदेखि कमी देखिएको बताउँदै उनले भने, ‘जल पक्षीको जलविहार गर्ने जलाधार क्षेत्रलाई संरक्षण गर्नु सबैको दायित्वभित्र पर्दछ । सिमसार क्षेत्रलाई चरा पर्यटनका रूपमा विकास गर्न सकिन्छ, यसका लागि स्थानीय तहले चासो देखाउनुपर्छ ।’


-

-

Nature related News
Kathmandu, Nepal
phone: 01-4101181
Email: prakritipress@gmail.com

पढ्नै पर्ने

©2024- All Right Reserved. Designed and Developed by  EastlinkCloud