हिउँदमा कर्णालीमा डल्फिन

२ पुस, धनगढी।  
मनसुन अवधिभरि विभिन्न सहायक नदीमा देखापर्ने दुर्लभ डल्फिन हिउँदमा कर्णाली नदीमा देखा परिरहेका छन् । कर्णाली नदीको तल्लो तटीय क्षेत्रमा करिब ८ वटा डल्फिन नियमित रूपमा देखा परिरहेको डल्फिन संरक्षणकर्मी भोजराज ढुंगानाले जानकारी दिए ।

उनका अनुसार समूहमा २÷३ वटासम्म डल्फिन सत्ती पुलभन्दा माथिसम्म पुग्ने गरेका छन् । डल्फिन, जलचर तथा जैविक विविधता संरक्षण नेपालका अध्यक्षसमेत रहनुभएका ढुंगानाले भने, ‘कर्णाली नदीमा वर्षभरि नै डल्फिन बस्छन् । बर्सातको समयमा भने मोहना, पथरैया, कान्द्रालगायतका सहायक नदीमा आउने गर्छन् ।’

सहायक नदीमा पानीको सतह बढेपछि जेठ, असारमा ती नदीमा पुग्ने डल्फिन बर्सातको समय सकिएपछि पुनः कर्णालीको तल्लो तटीय क्षेत्रतर्फ फर्कने गरेका छन् । कर्णालीमा नदीको गहिराइ बढिरहेका कारण त्यसमा वर्षभरि नै डल्फिन बस्ने ढुंगानाले बताए ।

स्वच्छ पानीमा आहारबिहार गर्ने र बस्न रुचाउने गङ्गेटिक प्रजातिको डल्फिनलाई स्थानीयस्तरमा सोंँस वा स्वाँसु भनेर चिन्ने गरिन्छ । वर्षायाममा यो प्रजातिको डल्फिन मोहना नदीमा माथिल्लो तटीय क्षेत्रमा रहेको भितरियासम्म पुग्ने गरेका छन् ।

कैलालीका नदीमा विगतबाटै डल्फिन देखिने गरेको बुढापाकाले बताउने गर्छन् । ज्येष्ठ नागरिक एवं संरक्षणकर्मी भोजराज श्रेष्ठको अगुवाइमा पछिल्लो दुई दशकयता समुदायस्तरबाट डल्फिन संरक्षणको कार्य भइरहेको छ । विगतका नामुद सिकारी श्रेष्ठले डल्फिनको महत्वबारे विदेशी नागरिकबाट थाहा पाएपछि आफ्नो नेतृत्वमा डल्फिन संरक्षणसम्बन्धी गतिविधि अगाडि बढाएका थिए ।

तीन नदीमा घडियाल

यसै गरी यस वर्ष कर्णाली, मोहना र पथरैया गरी ३ वटा नदीमा जाडोयाममा दुर्लभ घडियाल देखा परिरहेका छन् । नदीमा पानीको गहिराइ घटेपछि विगतमा घडियाल पनि कर्णाली नदीको तल्लो तटीय क्षेत्रतर्फ जाने गरेका थिए ।

यस वर्ष कर्णालीमा कम्तीमा ५ वटासहित भजनी नगरपालिकाको हलौनाघाटस्थित मोहना नदी र टीकापुर नगरपालिकाको बैदीस्थित पथरैया नदीमा घडियाल बसिरहेको जनाइएको छ । ३ वटा नदीमा घडियाल बसिरहेकाले यो वर्ष तिनै नदीमा घडियालले अन्डा दिने र बच्चा कोरल्ने सम्भावना रहेको संरक्षणकर्मी ढुंगानाले बताए ।

गत वर्ष कर्णाली र पथरैया नदीमा घडियालले बच्चा कोरलेका थिए । मोहना नदीमा भने घडियाल गोहीले बच्चा कोरलेको अहिलेसम्म भेटिएको छैन । पुस, माघमा ‘मेटिङ’पछि पोथी घडियालले चैत वैशाखतिर अन्डा दिने गर्छन् । ६० देखि ९० दिनको अवधिमा अन्डाबाट बच्चा निस्कने गरेको जनाइएको छ ।


-

-

Nature related News
Kathmandu, Nepal
phone: 01-4101181
Email: prakritipress@gmail.com

पढ्नै पर्ने

©2024- All Right Reserved. Designed and Developed by  EastlinkCloud