१२ पुस, उदयपुर।
कटारी नगरपालिका–५ स्थित सिसाघारी सिमसार तथा पर्यापर्यटन क्षेत्रमा वन्यजन्तु उद्धार, उपचार तथा पुनःस्थापना केन्द्र स्थापना गरिएको छ । डिभिजन वन कार्यालय त्रिवेणीको स्वीकृतिमा केन्द्र स्थापना गरिएको हो ।
पर्यटन क्षेत्र व्यवस्थापन समितिका संयोजक दीलबहादुर अधिकारीका अनुसार केन्द्रमा सोलुखुम्बु, ओखलढुंगा, खोटाङ, उदयपुरमा फेलापरेका घाइते वन्यजन्तुको उद्धार गरिएको छ । ‘अहिले पनि केन्द्रमा २ वटा निलगाई, ४ मृगको उपचार गरेर राखिएको छ’, उनले भने, ‘कटारी–१४ बाट ल्याइएको सालक, गाईघाटबाट ल्याएको २ वटा निलगाईलाई बचाउन सकेनौँ ।’
कटारी डिभिजन वन कार्यालयका प्रमुख डिभिजन वन अधिकृत अनिरूद्ध साहका अनुसार मदन भण्डारी राजमार्ग र आसपास जिल्लामा फेलापरेका घाइते वन्यजन्तुको उद्धारका लागि केन्द्र स्थापन गरिएको हो । घाइते र टुहुरा वन्यजन्तुको उद्धार गरी वनमै छाड्ने वा अन्यत्र राष्ट्रिय निकुञ्जमा पुर्याउने उद्देश्य रहेको उनले बताए । ‘यस क्षेत्रका सोलुखुम्बु, ओखलढुंगा, उदयपुर, खोटाङ आसपासका जिल्लामा केन्द्र नरहेकाले यही केन्द्र प्रयोगमा ल्याइएको हो’, उनले भने ।
यस केन्द्रलाई क्षमता विकास गर्नुपर्ने आवश्यकता रहेको प्रमुख साहको भनाइ छ । यसको विकासका लागि एक जनालाई जावलाखेलको चिडियाखानामा तालिम दिएर दक्ष उपचारकर्ता राख्नुपर्ने आवश्यकता रहेको उनले बताए । ‘अहिले भेटेनरीका डाक्टरबाट उपचार गराउने गरिएको छ, त्यसले मात्रै पनि पशुपक्षी बचाउन सकिएको छैन’, उनले भने ।
पर्यटकीय क्षेत्र रहेको सिमसार क्षेत्रमा वन्यजन्तु राखिएकाले यसले पर्यटकलाई समेत आकर्षित गर्ने गरेको वडाध्यक्ष मोहन तामाङले बताए । वन कार्यालयको सहयोगमा केन्द्र स्थापना गरेपछि यसले पर्यटनको विकासमा पनि साथ पुगेको उनको भनाइ छ । सिसाघारी सामुदायिक वन उपभोक्ता समूहको वन क्षेत्रमा स्थापित सिमसार यस क्षेत्रकै पर्यटकीयस्थल पनि हो ।