चल्यो शीतलहर, बढ्यो दाउराको माग

२२ पुस, धनुषा।  
मधेश प्रदेशका जिल्लाहरूमा शीतलहर चल्दा अत्यधिक चिसो बढेको छ । बिहानबेलुका बाक्लो हुस्सु, शीतलहर चलेपछि चिसोबाट जोगिन स्थानीयले दाउराको माग गर्न थालेका छन् ।

पर्सामा विगत एक सातादेखि बाक्लो हुस्सु र चिसो सिरेटो चल्दा जनजीवन कष्टकर हुँदै गएको छ । चिसोबाट बालबालिका, वृद्धवृद्धा र दैनिक ज्यालादारी गरी जीवनयापन गर्नेहरू बढी प्रभावित भएका छन् ।

घाम नलाग्दा दैनिक ज्यालादारीको भरमा जीवनयापन गर्ने मजदुर तथा रिक्सा तथा ठेला चालक ज्यामी, डकर्मी बढी प्रभावित भएका छन् ।

नारायणी अस्पतालका चिकित्सक डा. उदयनाराण सिंहले चिसो बढेपछि बिरामीको चाप पनि बढेको बताए । विशेष गरी बालबालिका, वृद्धवृद्धा, दम तथा रूघाखोकीका बिरामी बढी समस्यामा पर्ने भएकाले सतर्कता अपनाउन उनको सुझाव छ । चिसोबाट बच्न न्यानो लुगा लगाउने झोलिलो खानेकुरा बढी खाने तथा अत्यावश्यक कामबाहेक घरबाट बाहिर ननिसक्न सर्वसाधारणलाई उनको आग्रह छ ।

चिसो बढेपछि सरकारी, वित्तीय संस्थामा सेवाग्राहीको भिड पातलिँदै गएको छ । वीरगञ्ज बजारमा भिडभाड हुन छाडेको छ । ग्राहकहरूको चहलपहल विशेष गरी न्यानो लुगा तथा हिटर खरिद गर्न बिजुलीका पसलमा देखिएको छ ।

वीरगञ्ज महानगर प्रमुख राजेशमान सिंहले नगरवासीको सुझाव अनुसार चिसोबाट जोगिन चोक चोकमा आगो बाल्न दाउराको व्यवस्था गरिएको जानकारी दिए । मौसमको अनुकूलता हेरी जाडो बढ्दै गएपछि विद्यालय तथा कलेज पनि केही दिनका लागि बिदा दिन सकिने उनको भनाइ छ ।

पर्याप्त भिजिबिलिटी नहुँदा उडान पनि प्रभावित भएको छ । सिमरा विमान स्थलबाट हुने नियमित उडान प्रभावित भएको सिमरा विमानस्थल कार्यालयले जनाएको छ ।

शीतलहरसँंगै बढेको अत्यधिक चिसोबाट बच्न दाउराको व्यवस्था हुनुपर्ने रौतहटका स्थानीयको माग छ । दाउराको व्यवस्था नहुँदा कागज तथा गुइँठा बाल्नुपर्ने बाध्यता रहेको स्थानीयको गुनासो छ । आगो ताप्न दाउराको व्यवस्था मिलाउन स्थानीय निकायले पहल गर्नुपर्ने समाजसेवी आत्माराम ठाकुरले बताए ।


-

-

Nature related News
Kathmandu, Nepal
phone: 01-4101181
Email: prakritipress@gmail.com

पढ्नै पर्ने

©2024- All Right Reserved. Designed and Developed by  EastlinkCloud