६ माघ, नवलपुर।
कावासोतीमा बनाउने भनिएको नमुना सदरमुकाम निर्माण स्थलमा रहेका रूखमध्ये पहिलो चरणमा ४७ वटा मात्र काटिने भएको छ ।
डिभिजन वन कार्यालय नवलपुरले पहिलो चरणमा कटान हुने भनिएका ४९ मध्ये ४७ वटा रूख छपान गरेको छ । छपान गरिएका रूख मध्ये ४१ वटा सिसौ, ३ वटा सिमल, एउटा करम छन् । कटान गरिने रूखबाट २ हजार १ सय ७ क्युफिट काठ र २ हजार १ सय क्युफिट दाउरा निस्किने डिभिजन वन अधिकृत शिशिर लम्सालले बताए ।
पहिलो चरणका लागि रूख कटान गर्न छपानको काम सम्पन्न भएसँगै अब आयोजनले छपान गरिएका रूख निर्माणस्थलबाट हटाउन सुरू गर्ने सहरी विकास तथा भवन निर्माण आयोजना कार्यालय चितवनका प्रमुख झपटबहादुर थापाले बताए । ‘बढीमा एक हप्ता भित्रमा रूख हटाउने काम सकिन्छ’, उनले भने ।
पहिलो चरणमा जिल्ला प्रशासन कार्यालय र २ वटा एकीकृत भवन निर्माणका लागि ठेक्का सम्झौता भएर काम अघि बढेको छ । सहरी विकास तथा भवन निर्माण आयोजना कार्यालय चितवनले पहिलो चरणमा ३ वटा भवन बनाउन रौतहटको चौधरी कन्स्ट्रक्सनलाई ठेक्का दिइसकेको छ । गत पुस ९ गतेको मन्त्रिपरिषद् बैठकले सदरमुकाम निर्माण स्थलका ६ सय ४२ वटा रूख काट्नका लागि स्वीकृति दिएको थियो । रूख कटान नहुँदा ठेकेदार कम्पनीले निर्माणको काम अघि बढाएको थिएन ।
गिद्धका गुँड संरक्षण गरिने
डिभिजन वन कार्यालयका प्रमुख वसन्त केशव अधिकारीका अनुसार गिद्धले गुँड लगाएकालाई संरक्षण गर्दै अन्य रूख काटिनेछ । पहिलो चरणमा काटिने ४९ मध्ये गिद्धले गुँड लगाएका २ वटा सिमलका रूख नकाटिने भएको हो ।
नमुना सदरमुकाम स्थलको ज्योतिकुञ्ज सामुदायिक वनमा १९ वटा गुँडमा अति लोपोन्मुख डंगर प्रजातिका गिद्धले प्रजनन गरिरहेका गिद्ध संरक्षणकर्मी डिबी चौधरीले जानकारी दिए । सन् २०२२ देखि २०२४ सम्म गरिएको ग्लोबल पोजिसनिङ सिस्टम (जिपीएस) मा गिद्धले यस क्षेत्रमा आराम गर्ने, बास बस्ने, आहार खोज्ने, प्रजनन तथा गुँड लगाउने उपयुक्त स्थल बनाउँदै आएको देखिएको उनको भनाइ छ ।
नेपालमा पाइने ९ प्रजातिका गिद्ध (डंगर, डफोर, सुन गिद्ध, राज गिद्ध, साना खैरे, लामो ठुँडे, खैरो ठुँडे, सेतो गिद्ध र हिमाली) मध्ये डंगर, सानो खैरो, लामो ठुँडे र सुन गिद्ध अति लोपोन्मुख मानिन्छ । नेपालमा हाल झन्डै २० हजार गिद्ध रहेको अनुमान गरिएको छ ।