संकटमा मानव–वन्यजन्तु सह–अस्तित्व

१० वैशाख, काठमाडौं ।  
वन्यजन्तुबाट मान्छे र मान्छेबाट वन्यजन्तु मारिने घटना नौला होइनन् । पाषण युगमा मानवको बसोबास नै अस्थायी थियो भने आहारको मुख्य आधार सिकार थियो । त्यसैले जनावरलाई मार्ने वा जनावरबाट बच्ने दुई उद्देश्यमा मान्छेले करिब २५ लाख वर्ष व्यतीत गरेको मानिन्छ ।

तर, करिब १० हजार वर्षअघि जब कृषि युग सुरू भयो, मान्छेले पशुपालन मात्र सुरू गरेन, खेतीपातीको उपक्रम पनि विकास ग-यो। यसरी एकातिर सिकारप्रति मान्छेको निर्भरता कम हुँदै गयो भने व्यवस्थित र स्थायी बसोबासले जीवनका वैकल्पिक आधार पनि विकास हुँदै गए । उद्योग, उत्पादन, व्यापार, पुँजी निर्माण र वितरणको संस्कृतिले मान्छेलाई प्रकृतिप्रति जागरुक र जिम्मेवार पनि बनाउँदै ल्याएको छ । जलवायु परिवर्तनजस्ता प्रभावले वन्यजन्तुको अस्तित्व संकटमा पर्दै गएको छ भने वन्यजन्तुको संरक्षण अब मानव सभ्यताको एक प्रमुख एजेन्डा बनेको छ ।

निकट विगतमा पनि सिकार खेल्ने राजा/महाराजाहरूको सोखले वन्यजन्तु संकटमा परेका थिए भने पछिल्लो समयमा पनि चोरी÷सिकारको उद्देश्यले त्यस्तो संकट टरेको छैन । अझ, मानव बस्ती फैलँदै जाँदा मान्छे र वन्यजन्तुको सह–अस्तित्वको मुद्दामाथि लगातार चुनौती बढेको छ । दुई दशकयता झापामा मात्रै २१ वटा जंगली हात्ती मारिनु र पछिल्ला वर्षमा घाइते हात्ती भेटिने क्रम बढ्नुले दुईपक्षीय द्वन्द्वको गहिराइ प्रतिबिम्बित गर्छ ।

गैंडा मारिने वा गैंडाबाट आक्रमण हुने, बाघको आक्रमणबाट मृत्यु हुने, बाँदर र बँदेलका कारण किसानले बसाइँ नै सर्नुपर्ने बाध्यता सिर्जना हुने जस्ता अनेकौं घटना मानव–वन्यजस्तु द्वन्द्वको थप विवरण हुन् । वनमाथि मानवीय हस्तक्षेप, दोहन र निर्भरता बढ्दै जाने हो भने स्थिति अझै गम्भीर हुने निश्चित छ । त्यसैले सह–अस्तित्व र सुरक्षा सुनिश्चित हुने गरी दीर्घकालीन रणनीति अख्तियार गर्न आवश्यक छ । पछिल्लो उदाहरण, झापा क्षेत्रमा संरक्षणकर्मीले प्राकृतिक र मानवीय कारणबाट घाइते भएका हात्ती भेटिरहेका छन् । एउटै वा फरक प्रजातिका जनावरबीच द्वन्द्व हुनु सामान्य हो ।

प्रजाति विशेषले आफ्नै प्रजातिबीच लडेर आफ्नो आधिपत्य स्थापित गर्ने वा आफूभन्दा कमजोर जनावरमाथि आक्रमण गरेर आफू जीवित हुने प्राकृतिक नियम जंगलमा चलिरहेको हुन्छ । यस क्रममा कोही मर्छन्, कोही घाइते हुन्छन् । पारिस्थितिक पद्धतिका नियमले पनि वन्यजन्तुबीच हुने प्राकृतिक द्वन्द्वलाई असामान्य ठान्न मिल्दैन । प्रश्न मानवीय कारणमाथि छ । त्यसका पनि दुई पाटा छन् । पहिलो, मान्छेले आफ्नो जनधनको सुरक्षाका लागि प्रतिकार गर्ने क्रममा हात्तीलगायत वन्यजन्तु घाइते हुने गरेका छन् । दोस्रो, वन्यजन्तुलाई महत्वपूर्ण अंग तस्करीका लागि मार्ने गरेको पाइन्छ ।

हात्तीका दाह्रा, पुच्छर, नङ, गैंडाको सिङ वा बाघको बंगारा तस्करीका लागि संगठित रूपमै र घातक हतियारको प्रयोग गरेर आक्रमण गर्ने, घाइते तुल्याउने वा मार्ने गरिन्छ । यो पक्ष भने बढी गम्भीर छ । सरकारका नीति र व्यवहार मानवीय आक्रमणलाई निरूत्साहित गर्ने र आक्रमणकारीलाई सजायको दायरामा ल्याउनेतर्फ केन्द्रित हुनुपर्छ । त्यस्तै, वन्यजन्तुको आक्रमणले मान्छेले पनि ज्यान गुमाउनुपरेको छ । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागको पछिल्लो प्रतिवेदन (आर्थिक वर्ष २०७९÷८०) अनुसार एकै वर्षमा नेपालभर वन्यजन्तुबाट मृत्यु हुने मानिसको संख्या ३९ थियो ।

त्यस्तै, सामान्य घाइतेको संख्या ७२ र सख्त घाइते हुनेको संख्या १२४, घर÷गोठको क्षति ५ सय ३१ थियो । त्यस आर्थिक वर्षमा वन्यजन्तुबाट भएको क्षतिको कुल १० हजार ४ सय २६ वटा घटना दर्ता भएका थिए । वन्यजन्तुबाट मानिसको मृत्यु हुनुको मुख्य कारण वन क्षेत्र आसपास मानवीय गतिविधि बढ्नु नै हो । बढ्दो जनसंख्याले वन क्षेत्र अतिक्रमित हुँदै गइरहेको र त्यसले वन्यजन्तुको बासस्थानलाई खुम्च्याउँदै लगेको छ । कतिपय ठाउँमा त बीचमा वन्यजन्तु संरक्षित क्षेत्र र वरपर मानव बस्ती हुने गरेका छन् । कहिँ राष्ट्रिय निकुञ्जभित्रै मानव बस्ती छन् । परिणामतः द्वन्द्व सिर्जना भइरहेको छ ।

सामान्य दैनिकीका जीवन संघर्षमा हुने घटनाका अतिरिक्त व्यवस्थित ढंगले तस्करीको उद्देश्यसहित वन्यजन्तुमाथि आक्रमण पनि हुने गरेको छ । यस्ता गतिविधिमा प्रायः राजनीतिक, प्रशासनिक लगायतका शक्तिकेन्द्रको संरक्षण हुने गर्छ । तसर्थ तस्करीमा संलग्नहरू बिरलै कारबाहीको दायरामा आउँछन् । तस्करीमा संलग्नलाई कठोर कारबाहीबाटै यसको जालो भत्काउन सकिन्छ । अनुसन्धानलाई सहज बनाउन आधुनिक प्रविधि, सूचना संयन्त्र, अन्य देशका विज्ञबाट अनुभव लिन सकिन्छ । तस्कर खुला सिमानाको दुरुपयोग गर्दै भारततर्फ लुक्न जाने भएकाले दुई देशका संयन्त्रबीच समन्वय र सहकार्यलाई पनि जोड दिनुपर्छ ।

एकअर्काका कारणले मान्छे र वन्यजन्तु मर्ने वा घाइते हुने क्रमलाई न्यून बिन्दुमा झार्ने हो भने मान्छेले नै पहलकदमी लिनुपर्छ । मान्छेलाई विवेकशील प्राणीका रूपमा लिइने भएकाले सह–अस्तित्वका लागि पहल गर्ने कर्तव्य उसकै हो । आफ्ना गतिविधिबाट वन्यजन्तुलाई असर नपरोस् भन्नेमा सचेत बन्नुपर्छ । किनकि, मानिससँग अनेकौं विकल्प हुन सक्छ । व्यक्ति, समुदाय र सरकारले त्यस्ता विकल्प पहिल्याउन सक्छन्, कार्यान्वयन गर्न सक्छन् । तर वन्यजन्तुसँग विकल्पबारे सोच्ने र कार्यान्वयन गर्ने क्षमता सीमित हुन्छ ।

तसर्थ सह–अस्तित्व र सुरक्षाका लागि आधिकारिक निकायबाट सचेतना फैलाइरहनुपर्छ । आवश्यकताअनुसार बस्ती सार्न सकिन्छ । वन्यजन्तुको आक्रमणको खतरा हुने वनमा मानिसको प्रवेशलाई रोक्न सकिन्छ । यद्यपि, यस्ता कार्यक्रम त यतिबेला मात्रै सफल हुन सक्छ, जतिबेला मानिसको वनसँगको निर्भरता घट्ने गरी रोजगारी र जीवनयापनका कार्यक्रमलाई प्राथमिकता दिइन्छ ।


-

-

Nature related News
Kathmandu, Nepal
phone: 01-4101181
Email: prakritipress@gmail.com

पढ्नै पर्ने

©2024- All Right Reserved. Designed and Developed by  EastlinkCloud