गुलमोहरले जित्न थाल्यो मन

५ जेठ, झापा ।

बुद्धशान्ति गाउँपालिका–४ बर्नेस्थितसडक किनारमा ढकमक्क फुलेका गुलमोहर हिजो–आज दुलहीझैँ देखिन्छन् ।

झापा–इलाम खडकखण्डमा ढपक्कै भएका गुलमोहरले दैनिक हजारौँलाई लोभ्याइरहेको छ । गुलमोहरलाई साक्षी बनाएर साथी भाइ, दम्पत्ति, प्रेमी प्रेमिका, व्यक्तिगत अनि घरपरिवारको फोटो÷सेल्फी लिनेहरूको घुइँचो दैनिक लाग्छ । टिकटक बनाउने र भिडियो खिच्न हत्तै गर्नेहरू पनि उत्तिकै हुन्छन् ।

गाउँपालिकाका अध्यक्ष मनोज प्रसाईँ भन्छन्, ‘दैनिक कति पर्यटक आउँछन् भनेर तथ्यांक राखिएको छैन ।’ पर्यटकको चहलपहल बढेपछि पालिकाले यहाँ खानेपानी, शौचालय र चौतारो निर्माण गरेको छ । साना होटल र चिया पसल पनि खुल्ने क्रम जारी छ । मेची राजमार्गमा पर्ने उक्त क्षेत्रमा बर्ने चिया बगान पनि अर्को आकर्षणको पाटो हो ।

चिया बगानको सदावहार हरियाली अनि ढकमक्क राताम्य भएर फूलेका गुलमोहरले जो कोही यात्रुलाई आकर्षित गर्छ । शनिबार र सार्वजनिक बिदाका दिन अन्य दिनभन्दा बढी पर्यटक आउने गरेका अध्यक्ष प्रसाईँले बताए । पालिकाले गत वर्ष त्यस वरपर दुई सयभन्दा बढी गुलमोहरका बिरूवा रोपेको छ ।

पालिकाले गुलमोहरका रूख भएको सडक छेउको आधा किलोमिटर क्षेत्रमा ब्लक बिछ्याएर सडकलाई फराकिलो बनाएको छ । पर्यटकले त्यसलाई ‘टिकटक रोड’ नाम दिएका छन् । इलामको कन्याम, श्रीअन्तु, माइपोखरीलगायत पर्यटकीयस्थल जाँदै गरेका व्यक्ति गुलमोहरको सौन्दर्यबाट मोहित बन्ने गरेका छन् ।

यहाँबाट एक किलोमिटर उत्तर बुद्धशान्ति–६ मा कोशी प्रदेशकै लामो झोलुंगे पुल छ । सो पुल हेर्न जानेसमेत बाटैमा रहेको गुलमोहरको सौन्दर्यको आनन्द लिन भुल्दैनन् । यस्तो वातावरणले यहाँका सवारीसाधनमा यात्रुको चाप बढाएको छ ।


-

-

Nature related News
Kathmandu, Nepal
phone: 01-4101181
Email: prakritipress@gmail.com

पढ्नै पर्ने

©2024- All Right Reserved. Designed and Developed by  EastlinkCloud