५ असार, भोजपुर ।
लोपउन्मुख वन्यजन्तु रेड पान्डा (हाब्रे) संरक्षणका लागि यहाँका विभिन्न सामुदायिक वनमा सिसी क्यामेरा जडान गरिएको छ ।
रेड पान्डा पाइने स्थान छनोट पश्चात ४८ वटा क्यामेरा जडान गरिएको हो । ४ वटा सामुदायिक वनमा क्यामेरा जडान गरेर रेड पान्डाबारे जानकारी लिने काम भइरहेको रेड पान्डा नेटवर्कले जनाएको छ । टेम्केमैयुङ–१ सावाको भुरूखेक र महाभिर वाल्वानी सामुदायिक वनमा ८ हजार मालिङ्गो बिरूवा (बाँस प्रजाति) रोपिएको छ ।
रेड पान्डासँगै अन्य वन्यजन्तु संरक्षणका लागि यी क्षेत्रमा ३ वटा ठूला पोखरीसमेत निर्माण गरिएको डिभिजन वन कार्यालय भोजपुरका अधिकृत कपिलदेव अधिकारीले जानकारी दिए । गत आर्थिक वर्षमा पोखरी निर्माण तथा रेड पान्डाको आहार मालिङ्गो रोपनको लागि श्रमदानसहित १३ लाख ३० हजार रूपैयाँ बराबरको काम भएको उनले बताए ।
‘हामीले रेड पान्डासँगै अन्य वन्यजन्तुको संरक्षणका लागि काम गरिरहेका छौँ’, अधिकारीले भने, ‘रेड पान्डाले मालिङ्गोका टुसा मन पराउने हुनाले यहाँ बिरूवा रोपन गरिएको हो ।’
राष्ट्रिय वन्यजन्तु संरक्षण ऐन २०२९ अनुसार रेड पान्डाको चोरी, सिकारी गरेको खण्डमा १ लाखदेखि ५ लाख रूपैयाँसम्म जरिवाना, एकदेखि १० वर्षसम्म कैद वा दुवै सजाय हुने व्यवस्था छ । मुन्दुम पदमार्गमा पर्ने यी स्थानमा रेड पान्डा संरक्षणले यहाँको पर्यापर्यटनमा समेत टेवा पुग्ने संरक्षणकर्मीहरूको विश्वास छ ।
रेड पान्डाको वासस्थन पहिचान भएका यहाँको नयाँ खर्क, भुरुखेक, धप्परे एकराते र मैयुङ सामदायिक वनमा क्यामेरा जडान गरिएको सामूहिक अभियान भोजपुरका अध्यक्ष गणेश श्रेष्ठले जानकारी दिए ।
यहाँको धप्परे एकराते सामुदायिक वनमा रेड पान्डा फेला भएको उनको भनाइ छ । ‘हामीले रेड पान्डा नेटवर्कमार्फत संरक्षणको काम गरिरहेका छौँ’, श्रेष्ठले भने, ‘संरक्षित क्षेत्रमा क्यामेरा जडान गरेर गणनाको काम भइरहेको छ । स्थानीयलाई सचेत गराएर रेड पान्डाको संरक्षणसँगै चोरी, सिकारीबाट रोक्न आवश्यक काम गरिरहेका छौँ ।’
रेड पान्डाको सुरक्षाका लागि घुम्ती गस्ती गर्न तालिम दिएर ७ वटा समूह परिचालन गरिएको उनले बताए । स्थानीयवासीले रेड पान्डाको अवस्थाको जानकारीसँगै चोरी सिकारी हुनबाट बचाउन भूमिका खेल्ने उनले जानकारी दिए । साथै पारिश्रमिक दिएर २ जना वन अभिभावकसमेत नियुक्त गरिएको अध्यक्ष श्रेष्ठले बताए । वन अभिभावकले हेरालु समूहको परिचालनसँगै यहाँको रेड पान्डाको विषयमा समय/समयमा अध्यावधिक गराउने अध्यक्ष श्रेष्ठको भनाइ छ ।
आगलागी व्यवस्थापनका लागि तालिम, दिगो जीविकोपार्जनको सम्भाव्यता अध्ययनलगायतका कार्यक्रम सञ्चालन भइरहेको जनाइएको छ । रेड पान्डाको चोरी, सिकारी तथा हानिनोक्सानीबाट बचाउन गाउँपालिकाले आवश्यक भूमिका खेल्ने गाउँपालिका उपाध्यक्ष रमादेवी राईले बताइन् । रेड पान्डालाई यहाँको पर्यटनसँग जोडेर भावी दिनका योजना अघि बढाइने उनको भनाइ छ ।
टेम्केमैयङ गाउँपालिकाले विभिन्न निकायसँगको सहकार्यमा रेड पान्डाको संरक्षणमा जोड दिएको गाउँपालिका अध्यक्ष सरोज बस्नेतले जानकारी दिए । रेड पान्डा पाइने क्षेत्रलाई ‘रेड पान्डा जोन’को रूपमा विकास गर्ने लक्ष्य रहेको उनको भनाइ छ ।