पहिरोबाट जीवितै उद्धार, केहीको मृत्यु, केही बेपत्ता

काठमाडौं, २२ असार  
गुल्मीको रुरुक्षेत्र गाउँपालिका–३ स्थित थोर्गाको ठाँटीमा पहिरोमा पुरिएकी महिलालाई जीवितै उद्धार गरिएको छ ।

घर माथिबाट पहिरो खस्दा रुरुक्षेत्र–३ की उजेली विक कच्ची घरमा पुरिएकी थिइन् । उनलाई जीवितै उद्धार गरिएको रुरुक्षेत्र गाउँपालिकाका अध्यक्ष यदु ज्ञवालीले जानकारी दिए । घाइते विकलाई उपचारका लागि प्राथमिक स्वास्थ्य केन्द्र रिडी लागिएको छ ।

बाढीले ३ घर बगे, एकजना बेपत्ता
अविरल वर्षापछिको बाढीमा परेर दोलखाको गौरीशङ्कर गाउँपालिका–९ स्थित डोडाङमा एकजना बेपत्ता भएका छन् । ३ वटा घर बगेका छन् ।

शुक्रबार राति रोल्वालिङ खोलाको बाढीले रोल्वालिङ पदमार्ग डोडाङमा होटल सञ्चालन गर्दै आएकी ६४ वर्षीया जाङ्मु शेर्पा सम्पर्कविहीन भएकी हुन् । गौरीशङ्कर–९ का वडाध्यक्ष निमा गेली शेर्पाका अनुसार वेपत्ता भएकी शेर्पा डोडाङमा ३० देखि होटल व्यवसाय गर्दै आएकी थिइन् ।  बाढीबाट भएको क्षतिको विवरण संकलन भइरहेको वडाध्यक्ष शेर्पाले बताए ।

ढलानमा पुरिएका मजदुरको शव फेला  
सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–४मा निर्माणाधीन भोटेकोशी–१ जलविद्युत् आयोजनाको ढलान खसेर पुरिएका २ जना मजदुरको शव फेला परेको छ ।

गए राति उद्धारकार्य थालिए पनि आज बिहान ४ बजे दुवै मजदुर मृत भेटिएका हुन् । ज्यान गुमाउनेमा बर्दिया नगरपालिकाका रामजिन थारु र सुमन थारु छन् । आयोजनाको डिसेन्डर कभर स्ल्याबमा च्यापिएकाले उनीहरुको समयमा उद्धार हुन सकेको थिएन ।

मृतकको शव परीक्षणका लागि काभ्रेस्थित धुलिखेल अस्पताल पठाइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब निरीक्षक निरञ्जन भट्टराईले जानकारी दिए । ढलानको संरचनाभन्दा तल्लो भागमा पुरिएकाले समयमै उद्धार गर्न नसकिएको उनले बताए ।

उक्त दुर्घटनामा ११ जना घाइते भएका थिए । गत वर्षको साउन महिनादेखि निर्माण सुरु गरिएको भोटेकोशी–१ जलविद्युत्को सुरुङभन्दा माथि मजदुर काम गरिरहेको समयमा एक्कासि स्ल्याब भत्किएको थियो । ११ जनाको तत्काल उद्धार गरिएको थियो । घाइतेहरुको बाह्रबिसेस्थित किस्टोन र बाह्रबिसे नगर अस्पतालमा उपचार भइरहेको छ भने केहीलाई धुलिखेल लगिएको छ ।

बाढीमा एक जना बेपत्ता

दाङको राप्ती नदीमा आएको बाढीमा फसेका ३ जनामध्ये एक जना बेपत्ता भएका छन् । ४८ वर्षीय तुलाराम यादव र ४० वर्षीय दयाराम यादवको सकुशल उद्धार भएको प्रहरीले जनाएको छ । लमही नगरपालिका ७ हस्नापुरस्थित राप्तीको बाढीमा फसेका उनीहरुको उद्धार भएको हो । दूध बिक्री गर्न लमही गएका ३ जनामध्ये राजपुर गाउँपालिका २ का १८ वर्षीय राजकुमार यादव फर्किने क्रममा बाढीमा बेपत्ता भएका हुन् ।

कल्भर्टमा च्यापिएर एकको मृत्यु

जुम्लामा कल्भर्ट भत्काउने क्रममा च्यापिएर एक जनाको मृत्यु भएको छ । ३ जना घाइते भएका छन् । पातारासी गाउँपालिका–१ स्थित डलिगाड ठुलो खोलामा शुक्रबार पुरानो कल्भर्ट भत्काउने क्रममा च्यापिएर पातारासी गाउँपालिका–१ का ५३ वर्षीय रन बुढाको घटनास्थलमै मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी प्रमुख छेदिलाल कामतीका अनुसार पातारासी गाउँपालिका–१ का ४१ वर्षीय कर्ण ऐडी, १८ वर्षीय सुरेश बुढा र १६ वर्षीय धन ऐडी घाईते छन् ।


-

-

Nature related News
Kathmandu, Nepal
phone: 01-4101181
Email: prakritipress@gmail.com

पढ्नै पर्ने

©2024- All Right Reserved. Designed and Developed by  EastlinkCloud