पूर्वबाट चराको बसाइँसराइ

२९ असोज, सुनसरी।

पूर्वी नेपालदेखि पश्चिम नेपालसम्मको तराई क्षेत्रमा आन्तरिक र बाह्य पानीचरा आउने क्रम सुरू भएको छ ।

हिमाली र पहाडी क्षेत्रबाट आएका चरा तराई क्षेत्रका सुनसरी, मोरङ, झापा, सप्तरी, उदयपुर र सिराहाका फाँट, जंगल र सिम क्षेत्रमा देखिन थालेका छन् । असोज लागेसँगै पहिलो सातादेखि आगन्तुक चरा आउने क्रम सुरू भएको हो ।

चराविज्ञ अनिश तिम्सिनाका अनुसार कर्‍याङकुरूङ, जलेवा, खोयाहाँस, सिन्दुरे हाँसलगायतका पाहुना चरा पूर्वी नेपालदेखि पश्चिम नेपालको तराई क्षेत्रका नदी र तालमा आउने क्रम सुरू भएको छ । उनी भन्छन्, ‘९ हजार मिटर उचाइसम्मको उडान भर्न सक्ने खोयाहाँस जाडो छल्न तराईको सिम क्षेत्र र फाँटमा विचरण गर्न आउन थालेका छन् ।’

त्यस्तै सिन्दुरे हाँस, अलकचन्द्र राजपुत्रिका, वनसु सुडिया, कैलो टाउके हाँस, बैकाल गैरी र ठुलो जलरङ चराको बसाइँसराइ सुरू भएको उनको भनाइ छ । त्यस्तै कलहाँस, सिउरे डुबुल्की चरा, श्वेत माछा कलहाँस, सिमकुखुरा, ध्वाँसे सिमकुखुरा, हलिमुखे, जुरे हुटिट्याउँ र कालीजुरे हाँस देखिन थालेका छन् ।

पाहुना चरा जाडोमा तराई आउने र गर्मीमा आफ्नै स्थायी वासस्थानतिर फर्कने गरेको तिम्सिना बताउँछन् । उनका अनुसार पूर्वी नेपालको २ हजारदेखि ३ हजार उचाइको पहाडको आसपास क्षेत्रमा रहेका चरा जाडो छल्न तराई क्षेत्रमा झर्ने गर्छन् ।

हिमाली र पहाडी जिल्लाबाट आएका फिस्टा, चुइयाँ, भद्राई र अर्जुनक प्रजातिका चरा कोशीटप्पु वन्यजन्तु आरक्ष क्षेत्र र आसपासका क्षेत्रमा चरा देखिन थालेका छन् । यतिबेला कोशीटप्पु आरक्ष क्षेत्र, तराईका नदी, खोला र तालमा साइबेरिया, वर्मा, चीन, मंगोलिया, रूस, कोरिया, थाइल्यान्डलगायतका देशबाट आगन्तुक चरा आउने गरेको नेचर गाइड विमल तिम्सिनाको भनाइ छ ।


-

-

Nature related News
Kathmandu, Nepal
phone: 01-4101181
Email: prakritipress@gmail.com

पढ्नै पर्ने

©2024- All Right Reserved. Designed and Developed by  EastlinkCloud