एक्यापमा वन्यजन्तुलाई जथाभावी पासो

१३ असार, मुस्ताङ। 

मुस्ताङको घरपझोङ गाउँपालिका–५ स्थित छत्रवाङ जंगलमा सिकारीले राखेको पासोमा परेको एउटा कस्तुरीको बच्चालाई सकुशल उद्धार गरी जंगलमा छाडिएको छ ।

उक्त वन क्षेत्रमा दैनिक सिकारी जाने गुनासो आउन थालेपछि अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) इलाका कार्यालय जोमसोमको अगुवाइमा संरक्षण क्षेत्र व्यवस्थापन समिति जोमसोम र जिल्ला प्रहरी कार्यालय मुस्ताङको संयुक्त टोलीले गस्ती गरेको थियो । सो क्रममा कस्तुरी मृग मार्नका लागि थापिएका २९ थान अवैध पासो फेला पारेर नष्ट गरिएको छ । वनजंगलमा पासो थाप्नेको खोजी गर्ने र पासो नष्ट गर्ने कार्यलाई अहिले नियमित बनाइएको छ ।

छत्रवाङ वन कस्तुरीको महत्वपूर्ण बासस्थान रहेको सुइँको सिकारीले पाएपछि उनीहरूको दिसा भेटिएको आसपासका क्षेत्रमा घरेलु विधिको प्रयोग गरी पासो थाप्ने गरेकाले त्यस क्षेत्रमा कडा निगरानी गरिएको एक्याप प्रमुख राजेश गुप्ताले बताए । उनले भने, ‘वन्यजन्तुको बासस्थानमा सिकारीले पासो थाप्ने गरेका छन् । सुरक्षा निकायसहितको टोलीको गस्ती बढाएर चोरीसिकारमा संलग्नहरूको खोजी तीव्र पारिएको छ ।’

एक्याप प्रमुख गुप्ताले जंगलमा पासो राखी वन्यजन्तुलाई हानि पु¥याएमा हुने सजायका बारेमा समुदायस्तरमा विभिन्न चेतनामूलक कार्यक्रमहरू सञ्चालन गरिए पनि अवैध गतिविधिको प्रयास अझै नरोकिएकोमा चिन्ता व्यक्त गरे ।

एक्याप जोमसोम अन्तर्गत पर्ने वारागुङ मुक्तिक्षेत्र, घरपझोङ र थासाङ गाउँपालिकाका जंगलहरूमा यस्ता पासोहरू छ्यापछ्याप्ती भेटिने गरेका छन् । एक्यापले स्थानीय स्तरमा गठित संरक्षण क्षेत्र व्यवस्थापन समितिको प्रयासबाट मात्र चोरीशिकार नियन्त्रण प्रभावकारी नभएपछि नेपाल प्रहरीको सहयोग लिने गरेको छ । बन्दुकको प्रयोग गर्दा आवाज आउने र पक्राउ पर्ने डरले अचेल सिकारीले घरेलु पासोको प्रयोग बढाएका हुन् ।

सिकारी र आहारा प्रजातिका वन्यजन्तु ‘कोर एरिया’ मा आहाराको कमी भएर बस्ती आसपासका क्षेत्रमा आइपुगेमा स्थानीय समितिले तिनलाई सुरक्षित रूपमा पुनः जंगलतर्फ नै धपाउने गरेको छ । आहाराको खोजीमा भौँतारिएका वन्यजन्तुको मौका छोपी हुने अवैध गतिविधिलाई रोक्न वन क्षेत्रमा अफलाइन र अनलाइन दुवै माध्यमबाट निगरानी गर्न मिल्ने जासुसी क्यामेराहरू जडान गरिएका छन् ।

एक्यापले यस्ता क्यामेराहरू रूख र जमिनमा लुकाएर राख्ने गरेको भए पनि शिकारीहरूले तिनलाई समेत क्षति पु-याउने गरेका छन् । विशेष गरी नाउर, कस्तुरी र विभिन्न प्रजातिका पक्षीहरूको सिकारका लागि यस्ता पासोहरूको प्रयोग बढी हुने गरेको पाइएको छ ।

एक्याप लोमन्थाङका प्रमुख उमेश पौडेलले वन्यजन्तुको सिकारमा संलग्नहरूलाई समुदायस्तरबाटै पहिचान गरी निगरानी गर्ने गरिएको बताए । जसका कारण पछिल्लो समय वन्यजन्तुसहित रंगेहात पक्राउ पर्नेको संख्यामा कमी आए पनि लुकिछिपी पासो थापेर हानि–नोक्सानी पु¥याउने क्रम भने पूर्ण रूपमा रोकिन सकेको छैन ।

एक्याप क्षेत्रभित्र वन्यजन्तुको अवैध सिकार वा चोरीसिकार गर्नेलाई राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९ बमोजिम कसुरको प्रकृति हेरी कसुरदारलाई ५ वर्षदेखि १५ वर्षसम्म कैद वा ५ लाख रूपियाँदेखि १० लाख रूपियाँसम्म जरिवाना वा दुवै सजाय हुने कानूनी व्यवस्था छ । वन्यजन्तुको संरक्षण र दिगो व्यवस्थापनका लागि एक्यापले हाल जिल्लाका पाँचवटै स्थानीय तहमा आहारा प्रजातिका वन्यजन्तुको अवस्थाकाबारेमा स्थलगत सर्वेक्षण समेत गरिरहेको छ ।

 

गोरखापत्र दैनिक


-

-

Nature related News
Kathmandu, Nepal
phone: 01-4101181
Email: prakritipress@gmail.com

पढ्नै पर्ने

©2024- All Right Reserved. Designed and Developed by  EastlinkCloud