जलाशयमा घट्दैछन् कछुवा

१६ असोज, सुनसरी। 

तराईका नदी, पोखरी, तालतलैया, सिमसार तथा चुरेक्षेत्रका खोल्सामा सहजै देखिने कछुवा पछिल्लो समय दुर्लभ बन्दै गएको छ । मानवीय क्रियाकलापका कारण कछुवाको बासस्थान क्रमशः मासिँदै जाँदा दुर्लभ बन्दै गएको हो ।

पानीका स्रोत तथा सिमसार अतिक्रमण, वासस्थान खण्डीकरण, अवैध शिकार तथा संकलन, माछा मार्ने क्रममा जालमा पर्ने, विष तथा करेन्टको प्रयोग, सडक निर्माण र जल प्रदूषणका कारण कछुवाको बासस्थान साघुरिँदै गएकोे संरक्षणकर्मी बताउँछन् । नेपालमा कछुवाका १८ प्रजाति अभिलेख गरिए पनि तीमध्ये १२ प्रजाति विश्व संरक्षण संघ (आइयुसिएन) को संकटापन्न श्रेणीमा रहेका छन् ।

कछुवा तथा सरिसृपसम्बन्धीमा चाइनिज एकेडेमी अफ साइन्सेसबाट विद्यावारिधिरत अस्मित सुब्बा कछुवा संरक्षणलाई एउटा जीव बचाउने अभियानका रूपमा मात्र बुझ्न नहुने बताउँछन् ।

उनका अनुसार कछुवा बाँच्ने पानी, नदी किनार, अन्डा पार्ने बालुवा वा माटो, घाम ताप्ने स्थान, आहारा तथा आसपासको हरियाली संरक्षण गर्न सके मात्र कछुवा संरक्षण प्रभावकारी हुने उनको भनाइ छ । सुब्बा भन्छन्, ‘कछुवालाई संरक्षण गर्नु भनेको एउटा प्रजातिलाई मात्र बचाउनु होइन, त्यसको वासस्थानसँग जोडिएको पानी, जमिन र हरियालीलाई संरक्षण गर्नु हो ।’

सरिसृप वर्गमा पर्ने कछुवाका लागि पानीका साथसाथै सुरक्षित नदीकिनार, अन्डा पार्ने बालुवा वा माटो, घाम ताप्ने स्थान, आहारा र प्राकृतिक वनस्पति पनि आवश्यक हुन्छ । कतिपय प्रजाति पानीमा बढी समय बिताए पनि प्रजननका समयमा नदीकिनारको सुरक्षित स्थानमा निर्भर हुन्छन् । सिमसार पुरिँदै जाने, प्राकृतिक पोखरी तथा जलाशय मासिँदै जाने, नदीकिनारमा अव्यवस्थित संरचना निर्माण हुने र वरपरका वनस्पति हट्दै जाने क्रमले कछुवाको जीवनचक्रमा प्रत्यक्ष असर पार्ने अनुसन्धाता सुब्बा बताउँछन् ।

सिमसारले वर्षाको पानी सञ्चय गर्ने, जमिनमुनिको पानी पुनर्भरण गर्ने, बाढीको प्रभाव घटाउने तथा विभिन्न जीवजन्तु र वनस्पतिलाई बासस्थान उपलब्ध गराउने भएकाले कछुवाको संरक्षणलाई सिमसार संरक्षणसँग जोडेर हेर्नुपर्ने संरक्षणकर्मीहरूको भनाइ छ ।

जोखिममा नरम खपटे कछुवा

पूर्वी नेपालमा पाइने नरम खपटे कछुवाका केही प्रजाति मानव गतिविधिका कारण थप जोखिममा परेका छन् । गहिरो नदी, जलाशय तथा सिमसारमा निर्भर हुने यस्ता कछुवाको वासस्थानमा अतिक्रमण बढ्नुका साथै अवैध सिकार, मासु तथा परम्परागत प्रयोग र अवैध व्यापार चुनौतीका रूपमा देखिएको बताइएको छ ।

सुनसरी, मोरङ, झापा र सप्तरीका नदी तथा सिमसारमा विष वा करेन्ट प्रयोग गरेर माछा मार्ने कार्यले कछुवा र अन्य जलचरलाई समेत असर पु–याउने संरक्षणकर्मी बताउँछन् । माछा मार्ने क्रममा जाल र बल्छीमा परेका कछुवा घाइते हुने, निसास्सिने वा मर्ने जोखिमसमेत बढी हुने बताइएको छ । सडक, बस्ती, कृषि, उद्योग तथा अन्य पूर्वाधार विस्तारका कारण कछुवाको प्राकृतिक वासस्थान टुक्रिदै गएको विज्ञहरूको भनाइ छ ।

ठूलो बासस्थान स–साना क्षेत्रमा विभाजन हुँदा आहारा खोज्न, प्रजनन र सुरक्षित स्थानमा पुग्न कछुवालाई कठिन हुने गरेको अनुसन्धानकर्ता सुब्बा बताउँछन् । कछुवा ढिलो बढ्ने र वयस्क अवस्थामा पुग्न लामो समय लाग्ने भएकाले संख्या घट्दै गए पुरानै अवस्थामा फर्किन पनि समय लाग्ने उनको भनाइ छ ।

पूर्वी तराईको चारकोसे झाडी क्षेत्र पछिल्लो समय बस्ती विस्तार, कृषि, सडक तथा अन्य पूर्वाधारका कारण विभिन्न स्थानमा खण्डित भएको छ । वनसँग जोडिएका पोखरी, खोल्सा, नदीकिनार र सिमसारमा हुने परिवर्तनले त्यहाँ आश्रित जलचर तथा वन्यजन्तुलाई समेत असर पार्ने संरक्षणकर्मी बताउँछन् । अनुसन्धानकर्ता सुब्बा कछुवा पाइने स्थानमा गहिरो पानी, कम मानवीय हस्तक्षेप र प्राकृतिक नदीकिनार संरक्षणलाई प्राथमिकता दिनुपर्ने बताउँछन् । कोशीटप्पु क्षेत्रबाहेक सम्भावना भएका अन्य नदी तथा सिमसारमा समेत संरक्षण कार्यक्रम विस्तार गर्नुपर्ने उनी सुझाउँछन् ।

समुदायको सहभागिता

कछुवा संरक्षणमा स्थानीय समुदायको भूमिका महत्वपूर्ण मानिन्छ । नदी तथा सिमसारमा विष र करेन्ट प्रयोग गरी माछा मार्ने कार्य रोक्ने, कछुवाका अन्डा तथा बच्चा संकलन नगर्ने, अवैध सिकार तथा व्यापारको सूचना सम्बन्धित निकायलाई दिने र प्राकृतिक पोखरी तथा सिमसार पुरेर बस्ती विस्तार नगर्ने काम स्थानीय तहबाटै सुरू गर्न सके कछुवा संरक्षणमा सहयोग पुग्ने बताइएको छ ।

नेपालबाट सरिसृप तथा उभयचरमा पहिलो विद्यावारिधि गर्ने प्रा.डा. कालुराम खुम्बुका अनुसार कछुवा संरक्षणलाई एउटा प्रजाति बचाउने अभियानमा सीमित नगरी सरिसृप तथा उभयचरको समग्र वासस्थान संरक्षणका रूपमा अघि बढाउनुपर्छ । त्यसका लागि अनुसन्धान, तथ्यांक, संकलन र वासस्थानको नियमित अध्ययन आवश्यक रहेको उनको भनाइ छ । खम्बुले सन् २००५ मा त्रिभुवन विश्वविद्यालयबाट यो विषयमा विद्यावारिधि गरेका हुन् ।

कछुवाका विभिन्न प्रजातिले वनस्पति, कीरा, माछा तथा अन्य जैविक पदार्थ खाने भएकाले खाद्य शृंखलामा समेत भूमिका खेल्ने प्राध्यापक खुम्बु बताउँछन् । गाउँका पोखरी, खेती नजिकका जलाशय, नदीकिनार र सिमसारको संरक्षण गरे कछुवाको संरक्षण हुने उनको भनाइ छ । पोखरी छेउका रूख काट्ने, सिमसार पुर्ने, प्राकृतिक जलाशय नष्ट गर्ने र नदी किनारको बालुवा र माटो अनावश्यक रूपमा हटाउन सके कछुवाको बासस्थान जोगाउन सकिने उनको सुझाव छ ।

 

बाबुराम कार्की/गोरखापत्र

Nature related News
Kathmandu, Nepal
phone: 01-4101181
Email: prakritipress@gmail.com

पढ्नै पर्ने

©2024- All Right Reserved. Designed and Developed by  EastlinkCloud