आहा टिम्बुङ पोखरी !

४ असोज, काठमाडौँ ।

ताप्लेजुङ र पाँचथरको सीमा क्षेत्र समुद्री सतहबाट करिब ४ हजार ३ सय मिटरको उचाइमा अवस्थित छ– टिम्बुङ पोखरी (तिम्बु पोखरी) ।

प्राकृतिक सौन्दर्य, जैविक विविधता र धार्मिक आस्थाले भरिएको आकर्षक पर्यटकीय गन्तव्यका रूपमा यो क्षेत्र परिचित छ । हिमाली दृश्य, हरिया डाँडाकाँडा तथा विभिन्न प्रजातिका वनस्पतिले घेरिएको टिम्बुङ पोखरी क्षेत्रले यहाँ पुग्ने पर्यटकलाई मनमोहक प्राकृतिक वातावरण प्रदान गर्छ ।

विशेषगरी मनसुनको समयमा पोखरी आसपास विभिन्न प्रजातिका रंगीचंगी फूल फुल्ने भएकाले यसको सौन्दर्य अझ आकर्षक देखिन्छ । पोखरी आसपास फूल्ने केन्जो फूलले यहाँको भू–दृश्यलाई थप मनमोहक बनाउने गर्छ । नीलो आकाश, हरिया पहाड, हिमाली दृश्य र रंगीचंगी फूलको संयोजनले मनसुनमा टिम्बुङ पोखरीको प्राकृतिक सौन्दर्यलाई जीवन्त बनाउँछ ।

धार्मिक दृष्टिले समेत महत्वपूर्ण मानिने टिम्बुङ पोखरीमा स्थानीयवासी तथा श्रद्धालुहरू दर्शन र पूजा–आजाका लागि पुग्ने गर्छन् । प्राकृतिक सौन्दर्यसँगै शान्त वातावरण र पदयात्राको अनुभव लिन चाहनेहरूका लागि पनि यो क्षेत्र आकर्षक गन्तव्य हो ।

कठिन तथा चुनौतीपूर्ण पहाडी बाटो पार गरेर पुग्नुपर्ने भएकाले टिम्बुङ पोखरीको यात्रा आफैँमा रोमाञ्चक र साहसिक अनुभव बन्ने गर्छ । यात्राका क्रममा देखिने हिमाली भू–दृश्य, वनस्पति र प्राकृतिक वातावरणले पदयात्रालाई थप अविस्मरणीय बनाउँछ ।

प्राकृतिक सौन्दर्य र जैविक विविधताले सम्पन्न टिम्बुङ पोखरी क्षेत्रको संरक्षण गर्दै आवश्यक पूर्वाधारसहित व्यवस्थित पर्यटन प्रवद्र्धन गर्न सके यसलाई पूर्वी नेपालको प्रमुख पर्यटकीय गन्तव्यका रूपमा विकास गर्ने पर्याप्त सम्भावना रहेको देखिन्छ ।

पाँचथर सदरमुकाम फिदिमबाट करिब १८ कोस टाढा अनि ताप्लेजुङको कालीखोलाको दुर्गम स्थानमा रहेको तिम्बुङ पोखरी दुवै जिल्लाको प्राकृतिक सम्पदा हो । करिक ६ महिना हिँउले ढाक्ने यो पोखरी जान जेठदेखि असोजसम्म उपयुक्त मौसम हो । यस पोखरीका आसपासमा शिव पोखरी, सूर्य कुण्ड, दुध कुण्ड, हाँस पोखरी, मयुरपोखरी, नीरपोखरी लगायतका अठारवटा पोखरी छन् ।

यो पोखरी पूर्वको गोसाइँकुण्ड नामले पनि परिचित छ । मौसम भएका बेला कञ्चनजंघा, कुम्भकर्ण लगायत विभिन्न हिमश्रृखंलाहरूका मनोहक दृष्य, तराइका विशाल फाँटहरू नियाल्न सकिन्छ । आसपासका अग्ला होचा पहाड र भारतको सिक्किम, दार्जिलिङको पनि दृश्यावलोकन समेत गर्न सकिन्छ ।

शब्द/तस्बिरः गिरिराज बाँस्कोटा/नेपाल फोटो सर्भिस।

Nature related News
Kathmandu, Nepal
phone: 01-4101181
Email: prakritipress@gmail.com

पढ्नै पर्ने

©2024- All Right Reserved. Designed and Developed by  EastlinkCloud