५ भदौ, बागलुङ।
ढोरपाटन शिकार आरक्षमा एकै वर्षमा २१ नाउर र ११ झारलको शिकार गरिएको छ ।
विदेशी शिकारीले प्रतिस्पर्धामार्फत नाउर र झारलको शिकार गर्न वन्यजन्तु विभागलाई राजस्वबापत ४ करोड १७ लाख रूपैयाँभन्दा बढी बुझाएका छन् । नेपालको एकमात्र शिकार आरक्ष ढोरपाटनमा वर्षमा २ चरणमा शिकार हुने गर्छ । पहिलो चरणमा ३ करोड ३ लाख ५ हजार र दोस्रो चरणमा १ करोड ४३ लाख ७४ हजार रूपैयाँ राजस्व बुझाइएको थियो ।
आरक्षका रेञ्जर सागर सुवेदीका अनुसार गत आर्थिक वर्षको पहिलो शिकार याम (असोज–मंसिर)मा ११ नाउर र ८ वटा झारलको सिकार अनुमति दिइएको थियो । विभिन्न कम्पनीमार्फत आएका विदेशी शिकारीले ८ नाउर र ५ वटा झारलको शिकार गरेका थिए । राजस्व बुझाए पनि गत वर्ष ३ नाउर र ३ वटा झारलको शिकार हुन सकेन । दोस्रो शिकार याम (फागुन–वैशाख)मा १४ नाउर र १० वटा झारलको शिकारका लागि अनुमति दिइएको थियो ।
सो याममा शिकारीले १३ नाउर र ६ वटा झारलको शिकार गरेका थिए । प्राविधिक कारणले एक नाउर र चार झारलको शिकार हुन नसकेको सुवेदीले बताए । आरक्षका प्रमुख संरक्षण अधिकृत अणनाथ बरालका अनुसार गोलीगोठ्ठामा देखिएको समस्या, सिकारी बिरामी हुनु, मौसममा आएको परिवर्तन र निसाना चुक्नुलगायत कारणले अनुमति लिएका केही नाउर र झारलको शिकार हुन सकेन ।
नेपालमा कानुनी रूपमा शिकार गर्न मिल्ने ढोरपाटन सिकार आरक्षमा विदेशी शिकारी प्रतिस्पर्धामार्फत महँगो शुल्क तिरेर शिकार गर्न आउने गर्छन् । नाउर र झारलको शिकारका लागि अमेरिका, स्पेन, नेदरल्यान्ड्स र मेक्सिकोलगायत देशबाट शिकारी आउने गरेका छन् ।
शिकारका लागि आवश्यक बन्दोबस्त र मार्गनिर्देशनका लागि आरक्ष कार्यालयले आफ्ना कर्मचारी र शिकारीका भरियालाई सम्बन्धित शिकार ब्लकमा खटाउने गर्छ ।
राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले नाउर र झारलको संख्या हेरेर हरेक वर्ष शिकारका लागि कोटा निर्धारण गर्छ । शिकार आरक्षलाई सातवटा ब्लकमा विभाजन गरिएको छ । त्यसमा सेङ, बार्से, सुर्तिबाङ, फागुने, घुस्तुङ, दोगाडी र सुन्दह ब्लक छन् ।
व्यवसायिक विदेशी शिकार कम्पनीका प्रतिनिधिसहितको टोली हेलिकप्टरमार्फत आरक्षमा पुग्ने गर्छन् । शिकारीले हेलिकप्टर, सहयोगी, बन्दोबस्त र अन्य खर्चसमेत आफैँ व्यहोर्ने गरेका छन् । एक शिकारीले १५ दिनको शिकार अवधिमा २० लाखदेखि करिब ३५ लाख रूपैयाँसम्म खर्च गर्ने गरेको आरक्ष कार्यालयले जनाएको छ ।
शिकारीसहित नेपाली सेना र आरक्षको टोली अधिकतम १५ दिनसम्म जंगलमा रहने गर्छ । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले हरेक शिकार याममा विद्युतीय बोलपत्र आह्वान गरी शिकारको कोटा र राजस्व दर निर्धारण गर्ने गरेको छ ।
नाउर र झारलको मूल्य, ब्लक रिजर्भ, लाइसेन्स, हेलिकप्टरलगायत सबै खर्च जोड्दा एक जनाशिकारीले मोटो रकम खर्च गर्ने गरेका छन् । हालसम्म नाउर र झारलको शिकारका लागि नेपाली सिकारीले प्रतिस्पर्धा नगरेको आरक्ष कार्यालयले जनाएको छ ।
विसं २०३९ मा स्थापना भएको ढोरपाटन सिकार आरक्ष बागलुङ, रुकुमपूर्व र म्याग्दी जिल्लाको १ हजार ३ सय २५ वर्ग किलोमिटर क्षेत्रमा फैलिएको छ ।



