५ साउन, काठमाडौँ ।
राष्ट्रिय निकुञ्जहरूमा घुमफिर गर्न विद्युतीय टिकट लागु गरिने भएको छ । विद्युतीय टिकटको परीक्षण सुरूवात काठमाडौँस्थित शिवपुरी–नागार्जुन राष्ट्रिय निकुञ्जबाट गरिएको छ ।
सरकारको शासकीय सुधारको नीति अनुसार सबै प्रकारका सेवा डिजिटलमैत्री बनाउने लक्ष्य पूरा गर्न कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीको पहलमा देशका सबै निकुञ्जमा विद्युतीय टिकट लागु गर्ने पहल थालिएको हो । शिवपुरी निकुञ्जसहित नेपालका १३ वटा राष्ट्रिय निकुञ्ज, २ आरक्ष र ६ वटा संरक्षण क्षेत्रमा पर्यटक प्रवेश व्यवस्थालाई प्रविधिमैत्री, सहज र पारदर्शी बनाउन विद्युतीय टिकटको व्यवस्थापनमा लैजाने प्रक्रिया अघि बढाइएको मन्त्रालयले जनाएको छ ।
मन्त्री चौधरीका अनुसार आगामी ६ महिनाभित्र देशभरका सबै निकुञ्ज तथा आरक्षमा विद्युतीय टिकट सेवा प्रणाली लागु भएपछि पर्यटक प्रवेश प्रक्रिया थप छिटो, पारदर्शी र व्यवस्थित हुने, राजस्व व्यवस्थापन प्रभावकारी बन्ने तथा सेवाग्राहीलाई सहज सेवा उपलब्ध हुने छ ।
शिवपुरी निकुञ्जको पानीमुहान प्रवेशद्वारमा शनिबारदेखि अनलाइन प्रविष्टिमार्फत विद्युतीय टिकट वितरण सुरू भएको वरिष्ठ प्रमुख संरक्षण अधिकृत विष्णुप्रसाद श्रेष्ठले जानकारी दिए । ‘पहिले हातैले लेखेर टिकट दिइन्थ्यो, अब अनलाइन प्रविष्टिसँगै घरबाटै टिकट काटेर घुम्न आउन सकिने गरी विद्युतीय टिकट वितरण सुरू गरेका छौँ’, उनले भने ।
उनका अनुसार अर्को सातादेखि निकुञ्जका १२ वटा काउन्टरमार्फत विद्युतीय टिकट प्रणाली लागु गरिने छ । आन्तरिक र बाह्य पर्यटनसँगै हाइकिङ पर्यटनका लागि प्रसिद्ध रहेको यस निकुञ्जमा प्रमुख हाइकिङ रूटमा पानीमुहान, नागार्जुन, ढकालचौर, सुन्दरीजल, ककनीलगायतका रूट छन् । यी गन्तव्यमा बिदाका दिनमा दैनिक ३ हजार ५ सयसम्म पर्यटक पुग्ने गरेका छन् । शनिबार सबैभन्दा बढी पर्यटक घुम्न जाने गरेका छन् ।
काठमाडौँ उत्तरमा अवस्थित शिवपुरी राष्ट्रिय निकुञ्ज जैविक विविधता र मनमोहक प्राकृतिक दृश्यका लागि परिचित एक शान्त प्राकृतिक क्षेत्र मानिन्छ । २०५८ मा स्थापना गरिएको यो निकुञ्ज १ सय ५९ वर्ग किलोमिटरमा फैलिएको छ । यहाँ हिमाली कालो भालु, चितुवासहित तीन सयभन्दा बढी प्रजातिका चरालगायतका प्राणीको बासस्थान छ । सल्ला, ओक र लालीगुराँस जस्ता बोट विरूवाले भरिएको शिवपुरी चुचुरोबाट उच्च हिमालको अवलोकन गर्न विदेशी पर्यटक पुग्ने गरेका छन् ।



