६ कात्तिक, हुम्ला ।
जिल्लाको नाम्खा गाउँपालिका–६ स्थित हिमालपारीको गाउँ लिमीको उच्च पाटनमा हिमपातपछि बेपत्ता भएका ३ सय बढी पशु चौपायको २७ दिनपछि जीवितै उद्धार गरिएको छ ।
चरनका लागि पाटनमा छाडिएका चौँरीगाई, घोडा र झोपासहितका ३ सय ७ पशु पशु लाप्चा क्षेत्रको साँक्या खोलामा फेला परेका हुन् ।
लिमीका वडाध्यक्ष पाल्जोर तामाङसहित स्थानीयको टोलीले खोजीका क्रममा ती पशुलाई हिउँमा उभिएको अवस्थामा फेला पारेको हो । उद्धार गरिएका पशुलाई तुम्लिङमा सुरक्षित रूपमा ल्याइएको वडाध्यक्ष तामाङले जानकारी दिए ।
गत १० र ११ असोजको भारी हिमपातपछि ग्याउ खोला र लिङ खोलाका पाटनमा चरिरहेका यति धेरै पशु चौपाया बेपत्ता भएका थिए । लामो समयसम्म पशु फेला नपरेपछि स्थानीयले तिनलाई जीवितै भेट्ने आशा समेत गर्न छाडेका थिए ।
तर, खोजीमा गएको टोलीले साँक्या खोलामा आफ्ना पशु चौपाया जीवितै फेला पारेपछि स्थानीय खुसी भएका छन् । वडाध्यक्ष तामाङका अनुसार पशुको खोजीका लागि ४ वटा समूह बनाएर टोली परिचालन गरिएको थियो ।
खोजीका क्रममा सबै चौपाय सकुशल फेला परेपछि उद्धार गरेर सुरक्षित स्थानमा ल्याइएको उनले जानकारी दिए । तामाङले भने, ‘२७ दिनसम्म घाँस नखाएर पनि पशुहरू बाँच्न सफल भएछन् । जीवितै भेटिने आशा कम भइसकेको अवस्थामा पशुहरू फेला परेपछि हामी खुसी भएका छौँ ।’
उद्धार गरिएका पशुमध्ये ५० वटा घोडा, २० वटा झोपा र २ सय ३७ वटा चौँरीगाई छन् । लामो समयसम्म हिउँमा फसेका घोडाले आफ्नो पुच्छर आफैँ खाएको अवस्थामा भेटिएको वडाध्यक्ष तामाङले बताए । उद्धार गरिएका कुनै पनि घोडाको पुच्छर बाँकी नरहेको उनको भनाइ छ ।
पशुको खोजीका लागि ४ वटा समूह परिचालन गरिएको थियो । भारी हिमपातका कारण उच्च पाटनमा चरिरहेका पशु बेपत्ता भएपछि स्थानीय चिन्तित थिए । ठूलो संख्यामा पशु चौपाय हराएपछि नाम्खा गाउँपालिकाले खोजी कार्यलाई सहज बनाउन ताक्चीदेखि ग्याउ खोलासम्मको सडकमा जमेको हिउँ पन्छाउन टेन्डर आह्वान गरेको थियो ।
