१३ जेठ, काठमाडौँ।
ग्यालापागोस टापु नजिक गहिरो समुद्रमा वैज्ञानिकहरूले दुर्लभ निलो रङको नयाँ अक्टोपस प्रजाति फेला पारेका छन् ।
समुद्री सतहबाट करिब १ हजार ८ सय मिटर तल यो जीव भेटिएको हो । यो सानो समुद्री जीवले अनुसन्धानकर्ताहरूलाई केवल आफ्नो असामान्य रङका कारण मात्र नभई, शरीरको बनावट, बासस्थान र व्यवहारका सम्भावित विशेषताका कारण पनि आश्चर्यचकित बनाएको छ ।
समुद्रको गहिराइमा वैज्ञानिकहरूद्वारा नियन्त्रित पनडुब्बीमार्फत गरिएको अवलोकनका क्रममा यो अक्टोपस पहिलो पटक देखिएको थियो । समुद्र जत्तिकै निलो देखिने र आकारमा गल्फ बलभन्दा पनि ठूलो नभएको यो जीव देख्नेबित्तिकै एक वैज्ञानिकले उत्साहपूर्वक ‘ऊ सानो छ ! यो नीलो छ !’ भन्दै प्रतिक्रिया दिएको भिडियोमा रेकर्ड भएको थियो ।
चाल्स डार्बिन फाउन्डेसनको टोलीले पत्ता लगाएको यस नयाँ प्रजातिबारेको अनुसन्धान हालै सार्वजनिक गरिएको हो । अक्टोपससम्बन्धी विज्ञ जेनेट भ्वाइटका अनुसार पहिलो दृश्य हेर्नेबित्तिकै उनलाई यो अत्यन्तै विशेष जीव भएको अनुभूति भएको थियो । अनौठो प्रजातिको पहिचान गर्न आग्रह गरिएपछि उनले यसको अध्ययन सुरू गरेका थिए ।
सुरूमा शिकागोस्थित फिल्ड म्युजियम अफ नेचुरल हिस्ट्रीका क्युरेटरहरूले उक्त जीवको तस्बिर र विवरणको अध्ययन गरेका थिए । त्यसपछि संरक्षित नमूना हुलाकमार्फत भ्वाइटसम्म पुगेको थियो । नमूना प्राप्त गरेपछि उनी चकित भएका थिए । उनका अनुसार त्यो जीव निकै आकर्षक र असाधारण देखिन्थ्यो ।
यो प्रजातिप्रति भ्वाइटको रूचि तत्काल बढ्नुको एउटा कारण यसको सबैभन्दा नजिकको ज्ञात प्रजाति उरूग्वेको तटमा, दक्षिण अमेरिकाको अर्कै समुद्री क्षेत्रमा बसोबास गर्ने तथ्य पनि थियो । यसले वैज्ञानिकहरूलाई यसको उत्पत्ति, विकास र वितरणबारे थप प्रश्न उठाउन प्रेरित गरेको छ ।
सामान्यतया नयाँ अक्टोपस प्रजातिको वैज्ञानिक विवरण तयार गर्न यसको शरीरको नमूना काटेर मुख, चुच्चो, दाँत तथा अन्य आन्तरिक संरचनाको परीक्षण गरिन्छ । तर यसपटक अनुसन्धानकर्ताहरूसँग एउटा मात्र नमूना भएकाले त्यसलाई काटेर जोखिम मोल्न उनीहरू इच्छुक थिएनन् । त्यसको विकल्पस्वरूप फिल्ड म्युजियमको टोलीले आधुनिक प्रविधिको सहारा लिएको थियो ।
सिटी स्क्यान प्रयोग गरी हजारौँ एक्स–रे तस्बिरहरू तयार गरियो र ती सबैलाई संयोजन गरेर अक्टोपसको विस्तृत त्रि–आयामिक (३ डी) मोडेल बनाइयो । यस प्रक्रियाले वाह्य संरचना बिगार्नुपर्ने आवश्यकता बिना नै यसको भित्री बनावट अध्ययन गर्न सम्भव बनायो ।
फिल्ड म्युजियमको एक्स–रे प्रयोगशालाकी प्रमुख स्टेफनी स्मिथले कुनै पनि व्यक्तिले पहिले कहिल्यै नदेखेको जीवको भित्री संरचना अवलोकन गर्दै दिन बिताउनु विशेष अनुभव हुने बताएकी थिइन् । वैज्ञानिकहरूले यस नयाँ प्रजातिलाई माइक्रोएलडोन ग्यालापाजेन्सिस नाम दिएका छन् । यो प्रजाति आफ्नो निलो रङका कारण विशेष रूपमा चिनिएको छ, किनभने प्रकृतिमा यस्तो रङ अपेक्षाकृत दुर्लभ मानिन्छ ।
अनुसन्धानअनुसार यो अक्टोपस सम्भवतः मेगालेडोनिडे परिवारसँग सम्बन्धित देखिन्छ । यस परिवारका सदस्यहरू प्रायः आकारमा धेरै ठूला हुन्छन् र अन्टार्कटिका आसपासको दक्षिणी महासागरमा पाइन्छन् । तर नयाँ प्रजाति भने सानो आकारको छ र फरक वातावरणमा भेटिएको छ । भ्वाइटका अनुसार यसको शरीरमा देखिने जिद्धी साना हात, प्रत्येक हातमा रहेको केवल एक पङ्तीको चुस्ने संरचना र पछाडिको सतहमा रहेको चिल्लो छालाले यसलाई धेरैजसो परिचित अक्टोपसहरूबाट अलग बनाउँछ ।
छोटा हात र एकल चुस्ने पङ्ती भएका अन्य प्रजातिसँग तुलना गर्दा पनि यसको रङ र छालाको बनावटले यसलाई विशिष्ट बनाएको भ्वाइटले बताए । रङको बनावट पनि रोचक देखिएको छ । यसको माथिल्लो भाग हल्का नीलो देखिन्छ भने तल्लो भाग निकै गाढा बैजनी रङको रहेको अनुसन्धानकर्ताहरूले बताएका छन् । वैज्ञानिकहरूको अनुमानमा यो रङ संयोजनले जीवलाई गहिरो समुद्रमा सुरक्षा प्रदान गर्न मद्धत गर्छ ।
भ्वाइटका अनुसार यदि अक्टोपसले प्रकाश उत्सर्जन गर्ने कुनै शिकार समात्यो भने त्यसबाट निस्कने उज्यालोले ठूला शिकारीलाई आकर्षित गर्न सक्छ । यस्तो अवस्थामा अक्टोपसले आफ्नो गाढा रङयुक्त भाग प्रयोग गरेर शिकारमाथि छोप्ने सम्भावना हुन्छ, जसले आफैँलाई शत्रुबाट जोगाउन सहयोग पु¥याउँछ ।
वैज्ञानिकहरूले अझै पर्याप्त अध्ययन हुन नसकेका समुद्री क्षेत्रहरूमा गहिरो समुद्रका नयाँ अक्टोपस प्रजाति भेटिनु पूर्ण रूपमा असामान्य नभएको बताएका छन् । पृथ्वीको विशाल समुद्री भू–भागको ठूलो हिस्सा अझै विस्तृत रूपमा अन्वेषण हुन बाँकी रहेको उनीहरूको भनाइ छ ।
यस सन्दर्भमा भ्वाइटले पृथ्वीको सम्पूर्ण स्थलीय भू–भागलाई एकै ठाउँमा जोड्दा पनि प्रशान्त महासागर पूर्ण रूपमा नढाकिने उल्लेख गर्दै समुद्री गहिराइ कति विशाल र अझै अनपेक्षित रहस्यले भरिएको छ भन्ने कुरा औँल्याए । उनले पछिल्लो पटक सन् २०२३ मा कोस्टा रिकाको तट नजिक नयाँ अक्टोपस प्रजाति अवलोकन गरिएको जानकारी दिए ।
हाल चर्चामा रहेको यो निलो अक्टोपस भने पहिलो पटक सन् २०१५ मा डार्बिन टापु नजिक देखिएको थियो । उक्त टापुको नाम ग्यालापागोस भ्रमणबाट विकासवादको सिद्धान्त निर्माणमा महत्वपूर्ण योगदान पु-याउने वैज्ञानिक चाल्स डार्बिनको नाममा राखिएको हो । यस नयाँ प्रजातिसम्बन्धी विस्तृत अनुसन्धान प्रतिष्ठित वैज्ञानिक जर्नल जुटाक्सामा प्रकाशित गरिएको छ ।
एजेन्सीको सहयोगमा।



