संरक्षित क्षेत्र बाहिर देखिन थाले राज लाहाँचे

५ मंसिर, कैलाली।
नेपालमा प्रायः संरक्षित क्षेत्रमा पाइने दुर्लभ राज लाहाँचे चरा संरक्षित क्षेत्रभन्दा बाहिर देखिन थालेका छन् ।

कैलालीको घोडाघोडी ताल, वसन्ता वनको रामपुरस्थित भावर क्षेत्र, रखौना ताल, जम्नेह्टा क्षेत्र र कञ्चनपुरको लालझाडी करिडोर लगायतका क्षेत्रमा यो प्रजातिका चरा पाइन थालेका छन् । अन्तर्राष्ट्रिय प्रकृति संरक्षण संघ (आइयुसीएन)ले राज लाहाँचेलाई विश्वमै लोपको संघारमा पुगेको अतिसंवेदनशील सूचीमा राखेको छ ।

सुदूरपश्चिमका २ जिल्लामा यो चरा निकुञ्ज क्षेत्रभन्दा बाहिर देखिन थालेको र संख्या पनि बढ्दो क्रममा रहेको पक्षी अनुसन्धाता हिरूलाल डगौराले बताए । उनका अनुसार घोडाघोडी ताल क्षेत्रमा सुरूमा २ वटा मात्र राज लाहाँचे अभिलेख गरिएको थियो । पछिल्लो अध्ययनले संख्या बढेर १३ पुगेको देखाएको छ । १३ वटै राज लाहाँचे एकै समूहमा देखा परेको डगौराले बताए ।

यसैगरी, कञ्चनपुरस्थित लालझाडी कोरीडोरमा एकसाथ ९ वटा राज लाहाँचे देखा परेका छन् । संख्यासँगै राज लाहाँचे देखा पर्ने क्षेत्र विस्तार भएको डगौराको भनाइ छ । विश्वमा २ सय ३९ प्रजातिका लाहाँचेहरु पाइन्छन् । नेपालमा हालसम्म २६ प्रजातिका भेटिएका छन् । जसमध्ये राज लाहाँचे विश्वमै दुर्लभ प्रजाति हो ।

यो प्रजातिको चरा शुक्लाफाँटा, बर्दिया, बाँके र चितवन राष्ट्रिय निकुञ्ज लगायतका संरक्षित क्षेत्रमा पाइन्छन् । निकुञ्ज क्षेत्रभन्दा बाहिर भने कैलाली, कञ्चनपुरमै बढी संख्यामा देखा परेको चराविदहरूको भनाइ छ ।


-

-

Nature related News
Kathmandu, Nepal
phone: 01-4101181
Email: prakritipress@gmail.com

पढ्नै पर्ने

©2024- All Right Reserved. Designed and Developed by  EastlinkCloud