२७ असार, हुम्ला ।
चीनतर्फको हिमताल फुटेर हिमपहिरो जाँदा रसुवामा ठूलो क्षति भएपछि हुम्लाको नाम्खा गाउँपालिका–६ को हिमालपारिको लिमीको हल्जी गाउँवासी झस्किएका छन् ।
सो गाउँ माथि ठूल–ठूला हिमताल छन् । बेला बेला ती ताल फुटेर हिमपहिरो आइरहने भएकाले यतिबेला लिमीको हल्जीवासी झस्किएका हुन् । हल्जीगाउँकी डोमा तामाङले बर्खा पनि लाग्यो अब गाउँमाथि रहेका हिमताल फुटेर हिमपहिरो आउँछ कि भनेर गाउँवासी चिन्तित रहेको बताइन् ।
केही वर्षको अन्तरमा बेला बेला सो हिमताल फुटेर हिमपहिरो आइरहने भएकाले र यस वर्ष वर्षा पनि धेरै हुने जानकारी आएकाले स्थानीय बढी चिन्तित रहेका उनले सुनाइन् । यसअघि आठ वर्षअगाडि हिमपहिरो आएर खेती लगाएको जग्गाजमिन बगाएको, लघुजलविद्युत्, घट्ट, काठेपुल बगाएर लगेको सम्झँदै तामाङले केही घरको नजिकबाट पहिरो गएको कारण अहिले पनि जोखिममा कायमै रहेको बताइन् ।
त्यसैगरी लिमीको हल्जीगाउँका फुर्वा तामाङले गत १ जेठ राति लिमीकै तिलगाउँमा हिमताल चुहिएर पहिरो जाँदा भएको क्षतिलाई सम्झँदै आफ्नो गाउँ पनि हिमपहिरोको उच्च जोखिममा रहेको बताए । लिमीका ३ गाउँमध्ये हल्जीगाउँ सबैभन्दा बढी हिमपहिरोको जोखिममा छ । ३ हजार ९ सय ३८ मिटर उचाइमा रहेको हल्जीगाउँमा पानी पर्न थालेपछि बढी चिन्ता लाग्ने गरेको उनले बताए ।
लिमीका वडाध्यक्ष पाल्जोर तामाङले हिमपहिरोको जोखिम भए पनि गाउँमा बस्नैपर्ने बाध्यता रहेको जानकारी दिए । गाउँदेखि माथि अग्लो क्षेत्रमा पुरानो र निकै ठूलो लामा भाषामा खाँची हिमताल भएको र त्यो ताल बेला–बेला फुटेर गाउँनजिकै हिमपहिरो आइरहने गर्दछ ।
हल्जी गाउँमाथि ५ वटा हिमताल छन् । तीमध्ये एउटा ठूलो र अन्य भने साना खालका छन् । हल्जीगाउँ उत्तरतर्फको हिमताल जोखिममा छ भने अन्य तीनतिर हिमपहिरोको जोखिम छ । दक्षिणतर्फ पनि हिमाल रहेको सो हिमालबाट तक्लुखोलाबाट पनि हिमपहिरो आएर तलको लिमी कर्णाली रोकिने गरेको छ । हल्जीगाउँका ९१ घरधुरीमा ४ सय १३ जनाको बसोबास छ । जिल्ला विपत् व्यवस्थापन समितिले पनि लिमीको हल्जीगाउँलाई सबैभन्दा उच्च जोखिमको सूचीमा राखेको छ ।