वन्यजन्तु नियन्त्रण गर्न स्वचालित बत्ती

२ असोज, कञ्चनपुर।  
वन्यजन्तुलाई नियन्त्रण गर्न शुक्लाफाँटा नगरपालिमा सेन्सरयुक्त बत्ती जडान गरिएका छन् ।

शुक्लाफाँटा नगरपालिमा –७ मा ५८ स्वचालित बत्ती जडान गरिएको हो । यससँगै बस्तीमा पसेर क्षति गर्ने जंगली जनावर नियन्त्रणमा सहयोग पुगेको छ । तराई भू–परिधि तथा संरक्षण कार्यक्रमअन्तर्गत सुनदेवी उपभोक्ता समितिले शुक्लाफाँटा निकुञ्ज छेउछाउका बस्तीमा २९ पोलमा बत्ती जडान गरेको छ ।

समितिका अध्यक्ष भरतबहादुर विष्टका अनुसार बत्तीको प्रकाशले निकुञ्ज हुँदै बस्तीमा प्रवेश गर्ने जनावर टाढैबाट देख्न सकिन्छ । ‘यो कार्यले बालीनाली जोगाउन मात्र होइन, जनावर भगाउन पनि सहज भएको छ । मानवीय क्षति कम गर्न मद्दत पुगेको छ’, उनले भने ।

विष्टका अनुसार बस्ती क्षेत्रमा हात्ती, बँदेल, नीलगाई, चितललगायतका वन्यजन्तु प्रायः प्रवेश गर्ने गरेका छन् । बत्तीसँगै समितिले करिब ३ किलोमिटर क्षेत्रमा मेसवायर समेत जडान गरेको छ । बत्ती र मेसवायर जडान भएपछि बालीनाली जोगाउन सहज भएको छ ।

शुक्लाफाँटा–७ का वडाध्यक्ष प्रतापसिंह धामीले स्वचालित बत्ती र मेसवायर दुवै उपायले जनावर नियन्त्रण गर्न सहयोग पुगेको बताए । ‘हात्तीले मेसवायर तोडेर बस्तीमा छिर्ने गथ्र्यो, घर नजिक पुगेपछि मात्रै थाहा पाउँथ्यौँ, अहिले बत्तीको कारण टाढैबाट देख्न सकिने भएको छ’, उनले भने । समितिले चालू आर्थिक वर्षमा थप बत्ती जडान गर्न प्रस्ताव पेस गरेको छ ।


-

-

Nature related News
Kathmandu, Nepal
phone: 01-4101181
Email: prakritipress@gmail.com

पढ्नै पर्ने

©2024- All Right Reserved. Designed and Developed by  EastlinkCloud