चितवनमा बढ्यो बाघको चहलपहल

१८ कात्तिक, चितवन।

सोमबार चितवन राष्ट्रिय निकुञ्ज घुम्न गएका बेलायती पर्यटकको समूहले प्रत्यक्ष बाघ अवलोकन गर्ने अवसर पाए । गत साता हल्याण्डका पर्यटकले पनि बाघ देखेपछि उत्साहित हुँदै खुशी व्यक्त गरेका थिए ।

पर्यटक र निकुञ्जका कर्मचारी, सुरक्षाकर्मीले पनि हिजोआज विगतका तुलनामा बढी बाघ देख्न थालेका छन् । लामो समय निकुञ्ज बन्द रहेर जीप सफारी खुलेसँगै वन्यजन्तुको गतिविधि बढेकाले पर्यटकले देख्न पाएका हुन् ।

सौराहस्थित वनबास रिसोर्टका महाप्रबन्धक प्रकाश न्यौपानेका अनुसार दिनभर निकुञ्जको जीप सफारीमा निस्किएका पर्यटकले बाघ देखेर फर्किएपछि खुशी हुँदै प्रतिक्रिया दिने गरेका छन् । दुर्लभ एकसिंगे गैंडासहित बाघ देखेपछि पर्यटक निकै रमाउने गर्दछन् ।

सोमबार भिम्ले पोष्ट नजिकै बेलायती जोडीले बाघ देखेपछि खुशी भएर ‘टिप्स’ दिएको पथ प्रदर्शक सरोज चौधरीले बताए । उनले भने, ‘बाघ देखेपछि स्वदेशी र विदेशी दुवै पर्यटक निकै खुशी हुन्छन् ।’ ठाउँठाउँमा बाघ देखिन थालेपछि घुम्न आउने पर्यटक उत्साहित हुने गरेको चौधरी बताउँछन् ।

चितवन निकुञ्ज प्रमुख डा. गणेश पन्तले पर्यटक र कर्मचारीहरुले हिजोआज बाघसहितका वन्यजन्तु धेरै देख्ने गरेको बताए । उनले ढड्डीहरु सुकेर सुख्खापन बढ्दै गएपछि निकुञ्ज खुल्ला हुने र थप वन्यजन्तु देख्न सकिने बताए ।

यसवर्ष यहाँ बाघ गणना गरिँदै छ । पछिल्लो गणनाअनुसार चितवन राष्ट्रिय निकुञ्जमा वयस्क बाघ १ सय २८ वटा छन् । आहारा प्रजातिको संख्या बढ्दै जाँदा बाघको संख्या पनि बढ्दै गएको छ ।

रासस


-

-

Nature related News
Kathmandu, Nepal
phone: 01-4101181
Email: prakritipress@gmail.com

पढ्नै पर्ने

©2024- All Right Reserved. Designed and Developed by  EastlinkCloud